नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलाविरुद्ध सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलाविरुद्ध सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट)मा जाने बताएका छन्।

उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट गरेका हुन्।

‘सम्मानित अदालतका फैसलालाई हामी मान्छौँ। विविध कारणले कुनै-कुनै फैसला त्रुटीपूर्ण हुनसक्छन्। फैसला उपयुक्त नलागेमा त्यसलाई सच्याउने कानूनी बाटो पुनरावलोकन नै हो। मलाई विश्वास छ, अदालतले जनताका पीरमर्कालाई बुुझ्नेछ र तपाईंहरूले न्याय पाउनुहुनेछ।’

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित उक्त भेटमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाली संस्कृति एकता र मित्रताको संस्कृति हो। हाम्रो सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्व लागेका हुनसक्छन्। हामीले हाम्रो राष्ट्रिय एकता र अस्तित्वलाई बलियो बनाउनुपर्छ। पृष्ठभूमि नै नभएका केही भूइँफुट्टाहरूले राष्ट्रिय एकताको भावलाई खल्बल्याउन सक्छन्। यसमा हामी सबै सजग हुनुपर्छ।’

अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौँ महानगरपालिकाका प्रमुखस्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो।

सङ्घर्ष समितिले फैसला र सूचना कार्यान्वानमा जाँदा लाखौं जनता विस्थापित हुने र सम्पत्तिको सुरक्षा नहुने भएकाले फैसलामा पुनरावलोकन गर्न र नगरप्रमुखको सूचना कार्यान्वयन नगर्न माग गरेको छ।

भदौ २३, २०८१ सोमबार १४:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।