प्रधानमन्त्रीजति झुट बोल्ने मान्छे यो देशमै अर्को छैन : सांसद ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीजति झुट बोल्ने मान्छे नेपालमा नभएको ठोकुवा गरेका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा जान्छु भनेर नगएको भन्दै यस्तो बताएका हुन्।
‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे सायद नेपालमा कोही पनि छैन होला, स्पष्टका साथ,’ उनले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहका लागि भन्दै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरू जुम्ला गए। लास्टमा आएर प्रधानमन्त्रीले म आउँदिन दिक्षान्त समारोह पछाडि सार भन्दिनुभो। हुकुमी शासन हो?’
प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण भन्दै लाखौं रकम खर्च भइसकेको कार्यक्रममा नजान भनिएकाले त्यहाँ खर्च भएको रकम प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्न समेत उनले माग गरे।
उनले थपे, ‘प्रधानमन्त्री बिरामी हुनुभो वा मौसम खराबी भो भने हामी स्वीकार्छौँ। उहाँको कार्यव्यस्तता, भ्यूटावर भइदिएको भए दौडेर जानुहुन्थ्यो होला, विश्वविद्यालय भयो, त्यहि भएर जानुहुन्न।’
साथै उनले एमाले र कांग्रेसका भातृ संगठनलाई सम्हाल्न आग्रह गर्दै भातृ संगठन नभनेर गुन्डा संगठन भन्नुपर्ने बताए। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा रोकिएको विषयमा समेत उनले ध्यानाकर्षण गराए।
भदौ २४, २०८१ सोमबार १४:०८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।