ओलीमाथि आक्रमक सुमना- ‘ओली शासनमा रोकिएको परीक्षा र दिक्षान्त कहिले हुन्छ?’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यार्थीको परीक्षा र दिक्षान्त समारोह रोकिएको विषयमा प्रश्न उठाएकी छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा उनले विश्वविद्यालयहरु पठनपाठनको क्षेत्र कम र पार्टी पार्टी प्यालेस ज्यादा हुन थालेको भन्दै परीक्षा र दिक्षान्त समारोह रोकिएको विषयमा प्रश्न उठाइन्।
‘विश्वविद्यालयहरू पठनपाठनको क्षेत्र कम र पार्टी पार्टी प्यालेस ज्यादा हुन थालेको छ,’ उनले भनिन्, ‘एउटा प्रधानमन्त्रीको पार्टी, अर्को गृहमन्त्रीको पार्टी। विद्यार्थी संगठनको लडाइँमा पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने। विद्यार्थीहरूलाई हामीले के गर्न सिकाउँदै छौँ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा नगएर समारोह नै रोकिएको विषयमा समेत ओलीको आलोचना गरिन्।
‘न विद्यार्थीलाई पढ्न दिन्छौं, तालबान्दी गर्छौँ। जेनतेन पढेर जाँच हुन्छ, रिजल्ट आउँदैन। रिजल्ट आएर दिक्षित हुन लाग्दा दिक्षित समारोह पनि रोक्दिन्छौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिक्षान्त समारोह नै रोकियो,’ उनले थपिन्, ‘के कारणले भन्दा प्रधानमन्त्रीको कार्यव्यस्तता रे। प्रधानमन्त्रीको कार्यक्षमतामाथि नै प्रश्न उठाउनुपर्ने अवस्था भयो।’
उनले विद्यार्थीहरूको जीवन परीक्षामाथि खेलबाड नगर्न आग्रह गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयको रोकिएको परीक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त कहिले हुन्छ भन्दै प्रश्न गरिन्।
उनले अगाडि भनिन्, ‘ओलीशासनमा एएफयूकाे जाँच कहिले हुन्छ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह कहिले हुन्छ?’
भदौ २४, २०८१ सोमबार १३:५३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।