पाकिस्तान-अफगानिस्तान सीमामा गोलीबारी हुँदा दुई कमान्डरसहित आठ तालिबानी लडाकुको मृत्यु

पाकिस्तान-अफगानिस्तान सीमामा गोलीबारी हुँदा दुई कमान्डरसहित आठ तालिबानी लडाकुको मृत्यु

एजेन्सी : तालिवान नियन्त्रित अफगानिस्तान र पाकिस्तानबीच आइतबार राति भीषण गोलीबारी भएको छ।

पाकिस्तानी वेबसाइट जियो न्यूजको दाबी अनुसार यसमा कम्तीमा आठ तालिबानी लडाकू मारिएका छन्। यसैबीच १६ जना घाइते भएका छन्।

खोस्त प्रान्तको सीमा क्षेत्रमा राति नौ बजेबाट सुरु भएको गोलीबारी चार घण्टासम्म जारी रहेको प्रतिवेदनमा उल्लेख छ।

सीमा सुरक्षा कर्मीहरूसँग सम्बन्धित स्रोतहरूले भने कि मारिनेहरूमा अफगान तालिबानका दुई वरिष्ठ कमाण्डरहरू खलील र जान मोहम्मद थिए।

झडपमा कति पाकिस्तानी सैनिकको हताहती भए भन्नेबारेमा एकीन विवरण आइसकेको छैन।

यसअघि पनि ४ सेप्टेम्बर राति पाकिस्तान र तालिबानबीच गोली हानाहान भएको थियो।

तालिबान सरकारले पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा नयाँ चौकीहरू निर्माण गरिरहेकाले दिनहुँ यसक्षेत्रमा दुई पक्षबीच झडप भइरहेको छ।

एउटा काल्पनिक डुरान्ड रेखाले पाकिस्तान र अफगानिस्तानलाई छुट्याइए पनि अफगानिस्तानले यसलाई स्वीकार गरेको छैन।

यो रेखा ब्रिटिश अधिकारीहरूले जानाजानी पश्तो समुदायलाई विभाजित गर्नका लागि कोरेका अफगानिस्तानीहरूको धारणा छ।

यही कारणले दुई देशबीच यस विषयमा विवाद छ। तालिबानले डुरान्ड रेखालाई मान्यता दिँने अपेक्षा पाकिस्तानले गरे पनि त्यसो नभएपछि पुन: झडपको स्थिति उत्पन्न भएको हो।

सत्तामा फर्किएपछि तालिबानले पुरानो सरकारको अडान कायम राख्दै सीमा क्षेत्रमा आफ्नो दाबी गरेको छ। यसबाहेक, तालिबान सरकारले यी क्षेत्रमा नयाँ पोष्टहरू तयार गर्न थालेको छ।

भदौ २३, २०८१ सोमबार १३:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।