हलमा लागेको दुई दिनपछि पुनः सेन्सर गरियो ‘रावायण’

हलमा लागेको दुई दिनपछि पुनः सेन्सर गरियो ‘रावायण’

काठमाडौं : निर्माण नहुँदै विवादमा मुछिएको फिल्म ‘रावायण’ले रिलिजपछि पनि सन्तोषको सास फेर्न सकेको छैनन्। अनमोल केसीलाई फिल्ममा अनुबन्ध गरेदेखिको लफडा प्रदर्शनको चरणसम्म आइपुग्दा सकिएको छैन।

एक पटक सेन्सर पास भएर एडल्ट सर्टिफिकेट पाएको फिल्मको आइतबार पुनः सेन्सर गरिएको छ।

फिल्ममा काटमारको सिन बग्रल्ती भएपछि चलचित्र जाँच पास समिति सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको थियो।

१६ वर्षभन्दा कम उमेरकाले हलमा फिल्म हेर्न नपाउने भएपछि निर्माण टिमले केहि दृश्यमा ब्लर र केही संवादमा म्यूट गरेपछि पुनः सेन्सर गरिएको निर्माता तथा अभिनेत्री पूजा शर्माले जानकारी दिइन्।

सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएपछि अभिनेत्री शर्माले उत्साहित हुँदै अब फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउने बताइन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अब हाम्रो चलचित्र ‘रावायण’ १६ वर्ष मुनिका बालबालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन्।’

उनका अनुसार फिल्ममा दुई/तीन संवादमा बिप र दुई/तीन सटमा ब्लर गरिएको छ।

फिल्ममा निर्मात्री शर्माका अलावा पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन भने शिवम् अधिकारीले लेखेका छन्।

निर्माण टिमले तीन दिनको बक्स अफिस कलेन्सनको बारेमा समेत जानकारी गराएको छैन।

भदौ २३, २०८१ सोमबार १३:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।