नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।
भदौ २० गते बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई नियुक्ति पत्र दिएसँगै उनी नियुक्ति भएकी हुन्। उनी चार वर्षका लागि उक्त पदमा रहनेछिन्।
यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८० असोज १७ गते मन्त्रीस्तीय निर्णय बमोजिम उनी कम्पनीको निमित्त प्रबन्ध निर्देशक भएकी थिइन्। त्यसयता उनले कम्पनीको कार्यभार सम्हाल्दै आएकी थिइन्।
नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी।ई। र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्।
२०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नु भई २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् भने उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन्।
पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै, पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन्।
भदौ २४, २०८१ सोमबार १२:३८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।