साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा
काठमाडौं : बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी)को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ।
सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ।
फाउन्डेसनमा साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्री वापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ।
यस सम्बन्धी घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीवापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे।
यसका साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे।
शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरुलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुनेछ। यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्याउन मद्दत पुर्याउनेछ।
बीवाईडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई दिए।
भदौ २४, २०८१ सोमबार १२:१८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।