स्पेनको शरणमा पुगेपछि बोले भेनेजुएलाका विपक्षी दलका नेता गोन्जालेज
एजेन्सी : भेनेजुएलाको राष्ट्रपति पदका उम्मेदवार रहेका विपक्षी नेता एडमन्डो गोन्जालेजले आफू लोकतन्त्रका लागि लडाइरहने बताएका छन्।
गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका छन्। भेनेजुएला छोड्नुअघि, गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए।
जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ। यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएका छन्।
गोन्जालेजको अडियो सन्देश पनि भेनेजुएलाको प्रेस टोलीद्वारा जनतामा प्रसारण भइरहेको छ। यस सन्देशमा उनले स्वतन्त्रताको लागि आफूहरूको लडाइँ जारी राख्ने बताउँदै छिट्टै भेनेजुएलामा प्रजातन्त्रको पुनर्स्थापना गर्ने समेत बताएका छन्।
स्पेन जानुअघि गोन्जालेजलाई पक्राउ गर्न वारेन्ट पनि जारी गरिएको थियो। उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।
‘दबाब र धम्कीका कारण मैले भेनेजुएला छोड्नुपरेको थियो’, गोन्जालेजले स्पेन पुगेका आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै भने।
भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा ज्यान खतरामा परेपछि गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन्।
भदौ २४, २०८१ सोमबार ११:४१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।