विवादित नवनियुक्त प्रधानसेनापतिलाई राष्ट्रपतिद्वारा महारथीको दर्ज्यानी चिह्न प्रदान

विवादित नवनियुक्त प्रधानसेनापतिलाई राष्ट्रपतिद्वारा महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिए।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नेछन्।

नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ।

यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ।

सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेपछि गत साउन २५ गतेदेखि सो जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधानअनुसार वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन्। यसअघिका प्रधानसेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाए।

के हो विवाद?
गतवर्ष उपरथीबाट रथीमा बढुवाका लागि सिफारिस भएपछि उमेरमा कीर्ते भएको भन्दै २०८० मंसिर ५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिग्देलविरुद्ध उजुरी परेको थियो। आयोगले नेपाली सेना आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरी रक्षा मन्त्रालयमा पठाएको थियो।

शैक्षिक योग्यता प्रमाणपत्र र क्याम्पसको ढड्डामा फरक-फरक जन्ममिति रहेको भन्दै उनीविरूद्ध उजुरी हालिएको थियो। त्रिभुवन विश्वविद्यालयको अभिलेखमा रहेको २०२१ चैत १९ जन्ममितिलाई सच्याएर २०२३ माघ १९ गते बनाएको आरोप पनि सिग्देलमाथि छ।

उक्त जन्ममिति भने २०७६ साउन ३० गते सच्याएको भन्दै अख्तियारमा बेनामे उजुरी दिइएको थियो। उजुरीमा क्याम्पसको ढड्डामा २०२१ चैत १९ गते भएको उल्लेख गरिएको थियो।

तर, सोही कलेजले २०४३ साल भदौ १२ गते जारी गरेको एक पत्रमा उनको जन्ममिति २०२३ माघ १९ गते रहेको उल्लेख छ।

यसबारे रक्षा मन्त्रालयका तत्कालीन प्रवक्ता प्रकाश पौडेलले शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै जन्ममिति रहेको कागजातहरू उपलब्ध भएको बताएका थिए। उनका अनुसार शैक्षिक प्रमाणपत्र र नागरिकतामा पनि २०२३ माघ १९ गते नै छ।

सिग्देलविरुद्ध २०७६ सालमा मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। उक्त उजुरीमाथि मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान गरेको थियो।

तर उक्त समितिले ढड्डामा लेख्दा गल्ती भएकाले ढड्डामा भएको मिति सच्याउन भनिएको थियो। त्यसअनुसार उनलाई सफाइ दिएर ढड्डाको मिति सच्याइएको थियो।

यसअघि उपरथीबाट रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डेको जन्ममिति विवाद बाहिरिएको थियो। उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक-फरक पाइएको भन्दै मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। पाण्डेमाथि छानबिन हुनेभएपछि उनले २०८० कात्तिक २४ गते राजीनामा दिएका थिए।

भदौ २३, २०८१ सोमबार ११:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।