स्तरोन्नतिको चरणमा नेपाली क्रिकेटको घर, अहिलेसम्म के-के भए? (तस्बिरसहित)

स्तरोन्नतिको चरणमा नेपाली क्रिकेटको घर, अहिलेसम्म के-के भए? (तस्बिरसहित)
तस्बिर- नेपाल क्रिकेट संघ

काठमाडौं : नेपाली क्रिकेटको घर कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत जेठ महिनादेखि क्रिकेटका कुनै गतिविधि भएका छैनन्।

बर्खायाम लागेसँगै नेपालमा क्रिकेटका गतिविधिहरूमा शून्यता छाउँछ नै! यो शून्यताको समयमा नेपाल क्रिकेट संघ (क्यान) भने त्रिवि क्रिकेट मैदानको मर्मत र स्तरोन्नतिको काममा लागेको छ।

क्यानले अहिले मैदानको पिचदेखि दर्शक दीर्घासम्मलाई प्राथमिकतामा राखेर काम गरिरहेको नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

उनका अनुसार अहिले नयाँ पिच बनाइएको छ भने बाउन्ड्री बढाउनका लासिग तारबार पछाडि सारिएको छ। के हुँदैछ त त्रिवि क्रिकेट मैदानमा, आउनुहोस् जानौं।

नयाँ पिच
आगामी सिजनका लागि भन्दै क्यानले लामो समयदेखि मर्मत हुन नपाएको पुरानो पिचहरूलाई पूर्ण रूपमा हटाएर नयाँ पिच बनाएको छ। त्यसका लागि अनुभवी क्यूरेटरहरूले साथ दिएको क्रिकेट संघका अध्यक्ष छुम्बी लामाले जानकारी दिए।

त्रिवि क्रिकेट मैदानमा प्रमुख क्यूरेटर मधु तामाङका अनुसार पुरानो पिचमा भएको पाँच इन्चजति पुरानो माटो निकालेर नयाँ माटो फेरिएको छ।

‘हामीले पाँच इन्चजति पुरानो माटो निकालेर नयाँ माटो राख्यौँ, त्यसपछि रोल लगाएर घाँस रोप्यौँ,’ उनले भने, ‘घाँस उम्रिसकेपछि अन्तिम पत्रका लागि टपसेसन गर्यौँ।’

उनका अनुसार नयाँ बनाएका पिचहरूमा अबको एक महिनामा खेल्न योग्य हुनेछन्।

बढ्यो मैदान
नेपाल क्रिकेट संघले मैदानको सुरक्षाको लागि भन्दै लगाइएको तारजालीलाई केही फिट पछाडि सारेको छ। यसले मैदानको बाउन्ड्री बढाउन मद्दत गर्ने भएकाले अन्य देशमा भएका ठूला मैदानमा समेत नेपाली खेलाडीलाई खेल्न सहज हुने अपेक्षा गरिएको छ।

छुट्याइयो दर्शक बस्ने जोन
दर्शक दीर्घालाई पनि केही फरक फरक जोनमा विभाजन गरिएको छ। दर्शकले सबैभन्दा धेरै रुचाएको चोभार एण्डपट्टीको भागलाई छुट्टै र दर्शक बस्ने ठाउँमा प्रवेश गर्ने मुख्य प्रवेशद्वार भएको स्थानलाई तारबार गरी विभाजन गरिएको छ। 

यसले दर्शकलाई विभिन्न जोन अनुसारको टिकटको व्यवस्था गरिने लक्ष्य संघले लिएको छ। यसले दर्शक व्यवस्थापन र उनीहरूको सुरक्षामा समेत मद्दत गर्ने प्रवक्ता लामाको विश्वास छ।

स्थिर साइड स्क्रिन
यस्तै क्यानले अहिले भइरहेको र धेरै स्थान ओगटेको साइड स्क्रिनलाई पनि केही पछाडि सारिएको छ। बाउन्ड्री बढेसँगै यसअघि भएको साइड स्क्रिनलाई स्थायी र घिर्नीले सहजै सार्न सकिने बनाउन लागिएको प्रवक्ता लामाले बताए। यसको काम केही दिनमा थालिने उनको भनाइ छ।

यसका साथै साइड स्क्रिनको पछाडि रहेको टावरमा अब दर्शक जान पाउने छैनन्। त्यसलाई मिडिया बक्सको रूपमा स्थापित गरिने छ। दर्शकलाई त्यहाँ जान रोक्नका लागि दुवैतर्फ तारबार लगाइएको छ।

पानीको बोरिङ
यसैबीच क्यानले साइड स्क्रिनकै पछाडि पानीको बोरिङ समेत खनेको छ। मैदानमा राख्ने पानीका लागि ट्याङ्करको पानीको भर पर्नुपर्ने अवस्थामा क्यानले अहिले मिडिया बक्सभन्दा केही तल तथा साइड स्क्रिन भन्दा केही माथिको भागमा पानीको बोरिङ गर्न लागेको हो।

सो क्षेत्रमा अब दर्शक जान पाउने छैनन्। यसले मैदानमा पानी राख्नको लागि सहज हुन्छ नै, दर्शकहरूको जोनमा भएको शौचालयमा समेत पानीको व्यवस्था हुने बताइएको छ।

अभ्यास पिच थप तथा इनडोर व्यवस्थापन
संघले नेपाली राष्ट्रिय क्रिकेट टिमले नियमित अभ्यास गर्दै आइरहेको नेट अभ्यास पर्याप्त नभएका कारण पाँच वटा नयाँ टर्फ विकेट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यी नयाँ विकेटहरूमा पनि केही समयपछिबाट नियमित अभ्यास गर्न सकिने प्रवक्ता लामाले बताए।

यतिमात्र नभएर क्यानले भएको एउटा मात्र भित्रै अभ्यास गर्न सकिने इनडोर अभ्यासको थलोलाई पनि व्यवस्थित बनाएको छ।

यसअघि इनडोर अभ्यास थलोमा दिउँसो मात्र अभ्यास हुने गरेकोमा अब भने बत्तीको व्यवस्था गरेर राति पनि अभ्यास गर्न मिल्ने बनाइएको छ। अहिले व्यवस्थित बनाइएको इनडोरमा पहिला भन्दा धेरै खेलाडीले अभ्यास गर्न सक्ने लामाको दाबी छ।

स्कोरबोर्डका लागि भवन
यसका अलावा त्रिवि क्रिकेट मैदानमा डिजिटल स्कोरबोर्डको काम पनि धमाधम भइरहेको छ। यसका लागि दुई तले सानो भवन बनिसकेको छ भने केही समयपछि नै त्यसमाथि डिजिटल स्कोरबोर्ड जडान हुनेछ। राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर निकालेर गरेको यो काम अन्तिम चरणमा पुगेको छ। यद्यपि उसैले टेन्डर लगाएको फ्लडलाइटको काम भने हुन सकेको छैन।

जिम विस्तार र व्यवस्थापन
यस्तै राष्ट्रिय खेलाडीहरूले नियमित प्रयोग गरिरहेको जिमलाई पनि क्यानले केही विस्तार तथा व्यवस्थापन गरिरहेको छ। जिममा भएका सानातिना समस्यालाई समाधान गर्दै आगामी दिनमा अझ सुविधायुक्त बनाउन लागिएको प्रवक्ता लामाले बताए।

आउटफिल्ड मर्मत
यसैबीच क्यानले मैदानको आउटफिल्डको मर्मतको काम पनि निरन्तरता दिएको छ। प्रमुख क्यूरेटर तामाङका अनुसार खाल्डाखुल्डी भएको ठाउँमा बालुवा हालेर लेभलिङ गरिराखिएको छ। मैदानको बीचमा रहेको पिच निर्माणका क्रममा आउटफिल्डमा खाल्डाखुल्डी हुन पुगेको थियो।

यसका अलावा दर्शक बस्ने ठाउँमा बर्खाको पानीले बढेका घाँस पनि काटिएको छ। बर्खामा झाडी बनेको दर्शकदीर्घामा मैदानका कर्मचारीहरूले सरसफाइको कामलाई निरन्तरता दिएका छन्।

प्रवक्ता लामाका अनुसार माथि उल्लेख गरिएका कामहरूले एक महिनाभित्र पूर्णता पाउनेछ। त्यसपछि संघले वार्षिक क्यालेन्डरअनुसार क्रिकेटका नियमित क्रियाकलापहरू हुने उनको भनाइ छ।

टी-२० विश्वकप खेलेर आएको नेपालले हालसम्म अन्तर्राष्ट्रिय खेल खेलेको छैन। नेपालले अब भदौ ३१ गतेबाट क्यानडा र ओमानसँग लिग-२ को एकदिवसीय सिरिज खेल्दैछ। त्यस लगत्तै यी तीन देशबीच टी-२० सिरिज हुनेछ।

टी-२० सिरिजपछि नेपाली क्रिकेट टोली अमेरिका जाने सम्भावना अधिक छ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टी-२० आई र आईसीसी विश्वकप लिग-२ सिरिज हुनेछ।

क्यानडा र अमेरिका भ्रमणअघि नेपाली टीम भारतको बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमी गएका थिए। त्यहाँ उनीहरूले १५ दिनको क्याम्प गरेका थिए भने त्यस लगत्तै टोली श्रीलंका गएको थियो।

श्रीलंकामा नेपाली टोलीले तीन एकदिवसीय अभ्यास खेल खेल्ने तय भए पनि वर्षाका कारण दुई खेल हुन सकेन। तेस्रो तथा अन्तिम खेलमा नेपाल श्रीलंका डेभलपमेन्टसँग पराजित भएको थियो।

नेपाली राष्ट्रिय टोलीले अब दशैंपछि मात्र त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। यही  मैदानमा मंसिर १६ गतेदेखि नेपाल प्रिमियर लिग पनि आयोजना हुँदैछ। त्यसका लागि पनि मैदानलाई विशेष बनाइँदै गरेको प्रवक्ता लामाले जानकारी दिए।

भदौ २४, २०८१ सोमबार ११:०४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।