युईएफए नेशन्स लिग : रोनाल्डोको गोलमा पोर्चुगल विजयी, स्वीट्जरल्याण्डमाथि स्पेन हावी

युईएफए नेशन्स लिग : रोनाल्डोको गोलमा पोर्चुगल विजयी, स्वीट्जरल्याण्डमाथि स्पेन हावी

काठमाडौं : युईएफए नेशन्स लिगमा पोर्चुगलले दोस्रो जित निकाल्दा स्पेनले स्वीट्जरल्याण्डलाई पराजित गरेको छ।

गएराति पोर्चुगलको लिस्बनस्थित बेन्फिका स्टेडियममा भएको खेलमा १-० ले पछि परेको अवस्थाबाट घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित निकाल्यो।

खेलको सातौं मिनेटमा स्कट म्याक टोमिनेले गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अगाडि रहेको टोली दोस्रो हाफमा सम्हालिन सकेन।

खेलको ५४औं मिनेटमा ब्रुनो फर्नान्डेज र ८८औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई जित दिलाए।

जितसँगै पोर्चुगल ६ अंकसहित तालिकको शीर्ष स्थानमा छ। स्कटल्यान्ड भने दुवै खेलमा पराजित हुँदै पुच्छारमा छ। यो दुवै टीम लिग एको ग्रुप १ मा छन्।

यस्तै हिजै राति भएको अर्को खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४-१ गोलल हरायो। खेलको चौथो मिनेटमा टोलीले पहिलो गोल गरेको थियो। उक्त गोल जोसेलुले गरेका हुन्।

खेलको १३औं मिनेटमा फाबियन रुइजले स्पेनका लागि दोस्रो गोल गरे। यसको केहीबेरपछि खेलको २०औं मिनेटमा स्पेनमा रोबिन ले नोरमान्डले रातो कार्ड पाउँदै खेलबाट बाहिरिए।

१० खेलाडीमा सीमित बनेको स्पेनमाथि त्यसपछि भने स्वीट्जरल्याण्डले दबाब बढायो। खेलको ४१औं मिनेटमा जेकी अमडोउनीले गोल गर्दै खेललाई १-२ को अवस्थामा ल्याए।

तर, त्यो अवस्था धेरै लामो समय टिक्न पाएन। खेलको ७७औं मिनेटमा पुनः रुइजले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। अब स्वीट्जरल्याण्ड दुई गोलले पछि परिसकेको अवस्था थियो।

यसबीचमा खेलको ८०औं मिनेटमा फरान टोरेसले थप एक गोल गर्दै स्पेनलाई ४-१ को मजबुद स्थितिमा पुर्याए। प्रतियोगितामा स्पेनको यो पहिलो जित हो। पहिलो खेलमा स्पेन सर्बियासँग बराबरीमा रोकिएको थियो।

लिग ए को समूह ४ मा डेनमार्क ६ अंकसहित पहिलो स्थानमा हुँदा स्पेन दोस्रो स्थानमा छ भने स्वीट्जरल्याण्ड चौथो स्थानमा छ।

यस्तै, लिगमा हिजो राति भएका अन्य खेलहरूमा बेलारुसले लक्जम्बर्गलाई १-०, बुल्गेरियाले नथन आयरल्याण्डलाई १-०, डेनमार्कले सर्बियालाई २-०, स्लोभाकियाले अजेरबैजानलाई २-०, स्वीडेनले इस्टोनियालाई ३-०, क्रोएसियाले पोल्याण्डलाई १-० ले पराजित गर्दा ग्रिबलटार र लिकटेन्स्टाइनले २-२ को बराबरी खेले।

भदौ २३, २०८१ सोमबार ०७:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।