आज दिउँसो तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जसकारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महशाखाले आग्रह गरेको छ।
भदौ २४, २०८१ सोमबार ०७:१५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।