फ्रान्सका राष्ट्रपतिलाई जनमत संग्रह गराउन दक्षिणपन्थी नेता ले पेनको आग्रह
एजेन्सी : फ्रान्सका अति दक्षिणपन्थी नेता मरिन ले पेनले राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग अध्यागमनजस्ता प्रमुख मुद्दामा जनमत संग्रह गराउन आग्रह गरेका छन्। फ्रान्सेलीलाई प्रत्यक्ष मतदान गर्न दिइँदा राजनीतिक गतिरोध तोड्न सहयोग पुग्ने उनको दाबी छ।
गत साता म्याक्रोनले युरोपेली सङ्घ (इयु)को ब्रेक्सिटको वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय पूर्वविदेशमन्त्री मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
तर, ले पेनको युरोसेप्टिक, अध्यागमनविरोधी नेसनल र्याली (आरएन) पार्टीको समर्थनमा निर्भर बार्नियरलाई सत्तामा नियन्त्रण गर्न कमजोर मानिएकाले मुलुक अस्थिरताको अवधिका लागि तयार रहेको विश्लेषकहरूले बताएका छन्। आरएन नयाँ नेसनल एसेम्बलीमा सबैभन्दा ठूलो पार्टी हो।
निर्वाचनपछि फ्रान्सको सबैभन्दा ठूलो राजनीतिक गुटका रूपमा उदय भएको तर, बहुमतको कमी रहेको वामपन्थी गठबन्धनले पनि बार्नियरमाथि दबाब बढाइरहेको छ।
प्रधानमन्त्रीमा बार्नियरको मनोनयनको विरोधमा र म्याक्रोनको ‘सत्ता कब्जा’को निन्दा गर्न शनिबार एक लाखभन्दा बढी वामपन्थी प्रदर्शनकारीले फ्रान्समा जुलुस निकालेका थिए।
संसद्मा आरएनका सांसदहरूलाई नेतृत्व गर्ने ले पेनले आफ्नो पार्टी नयाँ मन्त्रिपरिषद्मा सहभागी नहुने बताए।
आइतबार उनले म्याक्रोनसँग जनतालाई प्रत्यक्ष मतदान गर्नका लागि अध्यागमन, स्वास्थ्य हेरचाह र सुरक्षा जस्ता प्रमुख मुद्दामा जनमत सङ्ग्रह गराउन आग्रह गरे।
अति दक्षिणपन्थीहरूको परम्परागत गढ उत्तरी सहर हेनिन–ब्युमोन्टमा उनले आरएनले ‘जनतालाई प्रत्यक्ष निर्णय लिने शक्ति दिने उद्देश्यबाट कुनै पनि दृष्टिकोणलाई निःशर्त समर्थन गर्ने’ बताए।
आरएनलाई पूर्ण बहुमत प्राप्त गर्न र सरकार बनाउनबाट रोक्न करिब दुई सय उम्मेदवार जुलाईमा विधायिकाको आकस्मिक निर्वाचनको अन्तिम चरणअघि खडाहुँदा अति दक्षिणपन्थीहरूमा आक्रोश बढ्यो। ले पेनले बार्नियरको हरेक चालमा नजर लगाउने सङ्केत दिए।
'यदि आगामी साताहरूमा फ्रान्सेलीहरूलाई एक पटक पुनः बिर्सियो वा उनीहरूसँग दुर्व्यवहार गरियो भने हामी सरकारको निन्दा गर्न सङ्कोच मान्दैनौँ', उनले भने।
पत्रकारहरूसँग कुरा गर्दै ५६ वर्षीया ले पेनले फ्रान्समा ‘एक वर्षभित्र’ नयाँ विधायिकी निर्वाचन हुने अपेक्षा गरे।
वामपन्थी गठबन्धनले पनि अविश्वासको प्रस्तावमार्फत बार्नियरलाई सत्ताबाट हटाउने वाचा गरेको छ। वामपन्थी गठबन्धनले ३७ वर्षीया अर्थशास्त्री लुसी कास्टेट्सलाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो तर, राष्ट्रपति म्याक्रोनले त्रिशङ्कु संसद्मा उनले विश्वासको मत हासिल नगर्ने भन्दै उक्त विचारलाई खारेज गरे।
भदौ २३, २०८१ आइतबार २१:५०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।