महिलाले आँटेपछि म्याग्दीमा बन्यो सामुदायिक भवन : खर्च १ करोड, १५० परिवार लाभान्वित
काठमाडौं : म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा महिलाको अगुवाइमा एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ।
दग्नामको नाङ्गीदेवी आमा समूहले गाउँपालिका, प्रदेश सरकार र दाताको सहयोगका साथै नाचगान गरेर जुटाएको रकमबाट दुईतले सभाहलसहितको भवन निर्माण गरेका हुन्।
समूहका अध्यक्ष मीनकुमारी गर्बुजाले सामुदायिक भवन निर्माणपछि भेला, बैठक, तालिम, गोष्ठी, छलफलका लागि व्यक्तिको घर, विद्यालयमा पुग्नुपर्ने समस्या हटेको बताइन्।
'गाउँमा दुई-चारजना भेला भएर छलफल गर्न कुनै व्यक्तिको आँगन र पिँढीमा बस्नुपर्दा समस्या भएको थियो। भवन बनेपछि विवाह, किरिया, छेवारजस्ता संस्कारगत कार्य गर्न पनि सहज भएको छ, उनले भनिन्।
मगर बाहुल्य दग्नामका करिब एक सय ५० परिवार सो भवनबाट लाभान्वित भएका छन्।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २० लाख, रघुगङ्गा गाउँपालिकाले ४५ लाख, रघुगङ्गा हाइड्रोपावरले पाँच लाख, सामाजिक विकास कार्यालयले ७५ हजार मूल्य बराबरको फर्निचर सहयोग गरेका छन्।
श्रमदानसहित भवन निर्माणमा एक करोडभन्दा बढी खर्च भएको छ।
भवन निर्माणका लागि स्थानीय दुर्गाबहादुर पुनले ५० हजारमा एक रोपनी जग्गा उपलब्ध गराएका थिए। सामुदायिक भवनलाई विपद् व्यवस्थापनका लागि पनि प्रयोग गर्न सकिने वडाध्यक्ष पविन गर्बुजाले बताए।
भदौ २३, २०८१ आइतबार २०:४७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।