‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु भन्नुहुन्थ्यो, बीपी’

‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु भन्नुहुन्थ्यो, बीपी’

काठमाडौँ : प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बीपी’ विषयक कार्यक्रम आयोजना गर्यो। 

कार्यक्रममा वक्ताहरूले बीपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसङ्गको चर्चा गरे।  

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बनेका बीपीको विचारले पत्रकारिताप्रति उनको धारणा प्रष्ट हुने बताए। 

उनले सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बीपीकै नेतृत्वको सरकारले गरेको भन्दै सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको सुनाए। 

'पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो। बीपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ', बीपीका दाजु मातृकाप्रसाद कोइरालाका पुत्रसमेत रहेका कमलले भने। 

पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहेका मदनमणि दीक्षितलाई बिपीले भनेको सरकारका गलत कामको आलोचना गरेर लेख्नु भन्ने भनाइलाई वर्तमान नेतृत्वले पनि अवलम्बन गर्नुपर्ने उनको भनाइ छ। 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही बिपीलाई राजनीति, साहित्य, दर्शनलगायत विषयमा विभिन्न कार्यक्रम गर्ने गरिए पनि पत्रकारितासँग जोडेर पहिलोपटक बहस चलाएको भन्दै खुसी देखिए। 

बीपीलाई बुझ्न उनले पत्रकारिता क्षेत्रलाई कसरी हेर्थे भन्ने अध्ययन हुनु आवश्यक रहेको भन्दै उनले बीपीको सान्निध्य र प्रेरणाले नै आफू पत्रकारितामा लागेको बताए। 

'पञ्चायतकालमा बीपी भारत निर्वासनमा बस्नुहुँदा नेपालका गुप्तचर पत्रकारको भेषमा बीपीको कुरा बुझ्न र त्यहाँको अवस्था हेर्न जान्थे, तिनलाई चिनेर पनि बीपी सहज रूपमा अन्तवार्ता दिनुहुन्थ्यो, उनीहरूलाई नि उहाँले हामीलाई जत्तिकै समान व्यवहार गर्नुभयो', उनले सम्झिए। 

महासङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली प्रेस जगत्ले पहिलोपटक बीपी जयन्ती मनाएकोमा खुसीहुँदै व्यक्ति केन्द्रित अहिलेको समाजमा भएका विषयलाई पत्रकारिताले पस्कन नसकेको अवस्था रहेको र यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। 

'पत्रकारले समाज र देशलाई बलियो बनाउने गरी काम गर्नुपर्छ, भाषाको सही प्रयोग गरेर जनचासोका विषयमा समाचार बनाउनुपर्छ, बीपीले पत्रकारिता क्षेत्रबाट गर्नुभएको अपेक्षा पनि यही हो', उनले भने। 

भदौ २२, २०८१ आइतबार १९:४३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।