लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले सरकारी गाडी फिर्ता गरे, पूर्वसभामुख घर्तीले अझै गरेनन्

लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले सरकारी गाडी फिर्ता गरे, पूर्वसभामुख घर्तीले अझै गरेनन्

बुटवल : लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन्।

आफ्नो कार्यकालबाट विदा हुँदैगर्दा केसीले पूर्वमुख्यमन्त्री र सभामुखलाई सवारी साधन प्रयोग गर्ने सुविधासहितको कार्यविधि बनाएर सरकारी गाडी प्रयोग गरेका थिए। तर, यसबारे समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो। 

लुम्बिनी सरकारलेसमेत गत भदौ ६ मा पूर्वबिशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो। 
 
त्यसपछि पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कोर्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले बताए। 

केसी २०७८ साउन २८ देखि २०७९ पुस २६ सम्म मुख्यमन्त्री थिए। 

२०७९ भदौ ३१ मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णयका आधारमा पूर्वमुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए। 

पूर्वबिशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए। आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउनको लागी पूर्वबिशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको छ। 

तर, लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्णबहादुर घर्तीले भने पदावधि सकिएको लामो समय भइसक्दा पनि सरकारी गाडी फिर्ता गरेका छैनन्।

पहिलो प्रदेश सभाका सभामुख घर्ती मगर अहिले रुकुमपूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छन्। ०७४ फागुन २ देखि ०७९ पुस ५ सम्म लुम्बिनी प्रदेशको सभामुख थिए। 

भदौ २२, २०८१ आइतबार १९:१०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।