‘रावायण’ : हिंसा र लैंगिक रूढीवादिताको पुनरुत्पादन, अपराधको वकालत
शुक्रबारबाट हलमा लागिरहेको फिल्म ‘रावायण’ले नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेका केही गम्भीर समस्याहरूलाई उठाउने प्रयास गरेको छ। तर दुर्भाग्यवश, समस्याको समाधानको साटो हानिकारक सोचहरूलाई साथ दिँदै।
फिल्ममा निर्देशक र कलाकारको मिहेनत अति हिंसात्मक दृश्य नै हो। दृश्यांकनका दृष्टिले बलियो देखिए पनि फिल्मलाई कथासँग जोडेर हेर्ने हो भने अर्थहीन छन्।
फिल्मले हिंसालाई समाजको समस्याको समाधानको माध्यमको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। बाबुको घरेलु हिंसाबाट आजित भएर आमा आत्महत्याको चरणमा प्रवेश गरेपछि कान्छा (पल शाह) को हिंसात्मक यात्रा शुरू हुन्छ।
उसले हरेक समस्याको समाधानको रूपमा हिंसालाई प्रयोग गरेको छ। यसले समस्याको समाधानको उपाय केबल हिंसात्मक बाटो मात्र हो भन्ने गलत सन्देश स्थापितको प्रयास गरेको छ।
समावेशिताको पक्षमा हुने बहसहरूमा महिला नेतृत्वमा आए यो समस्या समाधानको रचनात्मक पहल हुनसक्ने तर्क गरिन्छ। फिल्म ‘रावायण’की निर्मात्री पूजा शर्मा हुन्। तर, उनले फिल्ममा महिला पात्रहरूलाई सीमित र रूढीवादी भूमिकामा प्रस्तुत गरेकी छन्। महिला पात्रको चरित्र चित्रण निकै कमजोर छ।
पूजाले निभाएको पत्रकारको भूमिका सतही छ। नेपाली सञ्चार गृहमा महिला नेतृत्वबारे बहस चलिरहेको बेलामा पूजाको चरित्रले नेपाली मिडियामा महिला पत्रकारहरूको वास्तविक योगदान र क्षमताको अवमूल्यन गरेको छ।
प्रेममा आधारित कथामा एसिड पीडितको विषय मिसाइएको छ। तर, कथाले कुन-कुन चरित्र माग्छ भनेर चरित्र चित्रण भएको छैन। कथा हेरेर कलाकार हैन, कलाकार हेरेर कथा अनि पटकथाको निर्माण गर्दा फिल्म अलपत्र परेको छ।
निर्देशकको उदेश्य विषयको उठान हैन, जसरी हुन्छ बबाल हिंसात्मक दृश्य घुसाउनु छ फिल्ममा। निर्देशक सुदर्शन थापाले गरेका पनि त्यही छन्।
अन्यायमा परेकी महिलाको न्यायका लागि पहल गरिरहेकी टेलिभिजन पत्रकारको चरित्रमा रहेकी पूजाको मुहार गम्भीर विषयको रिपोर्टिङमा पनि हँसिलो देखिन्छ।
रिपोर्टिङको विषय अनुसार रिपोर्टरको हाउभाउ अनिवार्य हुन्छ। विषय अनुसारको भाव अनिवार्य पक्ष हो। तर, पूजालाई विषय अनुसार भावमा ल्याएर अभिनय गराउन यो फिल्ममा पनि सकेनन् निर्देशक सुदर्शन थापाले।
अर्की अभिनेत्री प्रियंका कार्कीको पात्रको चरित्र चित्रण केवल आलंकारिक मात्रै बनाइएको छ। गजलका लाइनहरू बोलेरै उनको चरित्र सकिन्छ। त्यसमा पनि उनको उर्दु लवज ‘डिजास्टर’ सुनिन्छ।
जिब्रो अभ्यस्त नभई भाषाको मिठास् आउन्न। उनले भाषाको अभ्यासै नगरी संवाद बोलेको प्रष्टै छुट्टिन्छ। अनि त्यो पात्र फिल्ममा किन चाहिएको हो त्यो पनि खुल्दैन।
सामाजिक संरचनाको गलत चित्रण
फिल्मले नेपाल-भारत सीमा क्षेत्रको जीवनलाई अत्यन्त सरलीकृत र स्टिरियोटाइप रूपमा प्रस्तुत गरेको छ। नेपाल-भारत सीमाको जटिल सामाजिक, आर्थिक र सांस्कृतिक गतिशीलतालाई पस्कन निर्देशक पूरै असफल भएका छन्। उनको ध्यान खाली काटमारमै केन्द्रीत देखिन्छ।
फिल्मले देखाएको गुण्डागर्दी र अराजकताको चित्रण अति अवास्तविक छ। त्यसले मधेसवासीप्रति नकारात्मक दृष्टिकोण बढाउन थप मलजल गर्ने निश्चित छ।
यो फिल्मको कलाकार पल शाह हुन् या निर्देशक सुदर्शन दुवै अहिले कानूनी कठघरामा छन्। पल त वास्तविक जीवनमै नाबालिग बलात्कारको अभियोगमा जिल्लाबाट दोषी ठहर भएर उच्चबाट सफाइ पाएका पात्र भइहाले। उच्चको फैसलामा गम्भीर त्रुटी देखाउँदै सर्वोच्च अदालतले उनको मुद्दा ब्यूँताइसकेको छ। सुदर्शनमाथि चैँ ठगीको मुद्दा अदालतमा चलिरहेको छ।
नियोजित हो या लेखनको कमजोरी, फिल्ममा प्रहरी र सुरक्षा प्रशासनलाई अति कमजोर र निष्क्रिय संस्थाको रूपमा देखाइएको छ। अति हिंसात्मक फिल्ममा प्रहरी प्रशासनलाई विचराको रूपमा प्रस्तुत गरिएको छ।
फिल्मले न्यायका लागि कानून हैन, आतंक मच्चाउनु पर्छ भन्ने गलत सन्देश दिने प्रयास गरेको छ। समाजमा न्यायको लागि वैकल्पिक (र प्रायः गैरकानूनी) माध्यमतिर लाग्न प्रोत्साहित गर्ने प्रयास गरेको छ।
रामको हैन रावणको कथा भन्ने प्रयास गरिएको दाबी गरिएको फिल्मले न रामको चरित्र समात्न सकेको छ न त रावणको। ‘अहो चट्ट टाउको काटेको दृश्य राख्यो भने त फिल्म एनिमल जस्तै सुपर हिट’ भन्ने भ्रमबाट ग्रस्त देखिए निर्देशक।
फिल्म ‘एनिमल’को हिंसाको तीव्र आलोचना भएको थियो। फिल्मको प्रशंसालायक पक्ष यसले बोकेको बाउ-छोराको माया अनि कलाकारहरूको दमदार अभिनय नै थियो।
तर, ‘रावायण’ले न कसैको कथा बोक्न सकेको छ, न त कलाकारको अभिनय नै गतिलो छ।
कान्छा र रागवको दोहोरो भूमिकामा रहेका पल शाह आफैँ राम अनि रावणको चरित्र बोक्ने प्रयास गरेका छन्। अभिनयको दृष्टिकोणले मध्यम तहको देखिन्छ। यस अगाडिका उनको अभिनयसँग रावायणको अभिनयको तुलना गर्ने हो भने सुधार देखिन्छ। तर, पर्याप्त छैन।
उनी रामको चरित्रमा रहेका रागवभन्दा रावणको चरित्रमा रहेका कान्छाको भूमिकामा केही बलियो देखिएका छन्। संवादमा रहेको उनको कमजोरीले निरन्तरता पाएको छ। भावनात्मक दृश्यहरूमा उनको अभिनय निकै कमजोर देखिन्छ।
केही दृश्यहरूमा पत्रकार हो कि हो कि जस्तो देखिएकी पूजाको चरित्र चित्रणमै समस्या देखिन्छ। परिस्थिति अनुसारको शारीरिक र मानसिक हाउभाउमा उनी निकै कमजोर देखिएकी छन्।
संवाद बोल्न नसक्ने उनको कमजोरी त पुरानै भइहाल्यो। यसमा पनि उनको संवादको शैली निकै अप्राकृतिक सुनिन्छ।
प्रमोद अग्रहरीले फिल्ममा जति स्थान पाएका छन् जमेर अभिनय गरेका छन्। नकारात्मक भूमिकामा किन पललाई छानेको होला? फिल्म हेर्दा पटक-पटक दर्शकको मनमा प्रश्न उब्जिन्छ। प्रमोदलाई पलको दोहोरो भूमिकामध्ये नकारात्मक भूमिकाको जिम्मा दिएको भए फिल्म यो हदमा कमजोर हुने थिएन।
प्रमोदले पात्रको जटिलतालाई राम्रोसँग प्रस्तुत गरेका छन्। संवाद प्राकृतिक र विश्वसनीय छ। शारीरिक हाउभाउ पात्र अनुसार मिलेको छ। केही दृश्यहरूमा उनको अभिनय अतिरञ्जित देखिएको छ। तर, यसको कारण कलाकार भन्दा पनि निर्देशकको कमजोरी प्रष्टै देखिन्छ, त्यो पनि पर्दामै।
अर्का कलाकार प्रकाश शाहको चरित्र पनि बलियो छ। उनले फिल्ममा जति स्थान पाएका छन्, बलियो अभिनय क्षमता देखाएका छन्।
फिल्मको छायांकन र कला निर्देशनमा राम्रो प्रयास गरिएको देखिन्छ। तर, सम्पादन, ध्वनि डिजाइन र भिएफएक्समा थप सुधार्न सकिने पक्ष टन्नै देखिन्छन्।
क्यामेराका एंगलहरूको प्रयोग विशेष हिंसात्मक दृष्यांकनमा छायाँकारको मिहेनत देखिन्छ। कतिपय हिंसात्मक दृश्यहरूमा क्यामेराको गति अस्थिर देखिन्छ।
एक्शन दृश्यहरूको सम्पादन तीव्र र प्रभावकारी छ। केही दृश्यहरूको बीचमा ट्रान्जिसन अप्राकृतिक देखिएको छ। कथाको गति कायम राख्न सम्पादन चुकेको छ।
ध्वनि डिजाइन र संगीत मध्यम देखिन्छ। संवादहरूको रेकर्डिङ गुणस्तर एकनासको छैन। गीत कथासँग राम्रोसँग एकीकृत हुन सकेको छैन। यसअघि भिएफएक्स प्रयोग गरिएका फिल्मका दृश्य अति कमजोर देखिएका थिए। यसमा भिएफएक्सको प्रयोगमा सुधार भएको देखिन्छ। केही दृश्यहरू अप्राकृतिक र कम गुणस्तरका देखिएको छ।
समग्रमा निर्माता पूजा र निर्देशक सुदर्शनले फिल्म ‘रावायण’ मार्फत अपराधको पक्षमा जनमत निर्माणको गलत प्रयास गरेका छन्। काटमार, ज्यानै सिरिङ्ग बनाउने हत्याका दृश्य मन पराउनेहरूका लागि यो फिल्म प्रिय लाग्न पनि सक्छ। अझ अपराध गर्नु गर्वको विषय ठान्नेहरूका लागि त उत्कृष्टै फिल्म बन्न पनि सक्छ ‘रावायण’।
भदौ २२, २०८१ आइतबार १८:५३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।