१७ वर्षमा इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या एक लाख नाघ्यो

१७ वर्षमा इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या एक लाख नाघ्यो

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको संख्या एकलाख नाघेको छ। सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन्।

हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका इपिएस शाखाले जनाएको छ।

दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन्। सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बनिसकेको छ।

इपिएस सुरू भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका थिए। वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कअनुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन्।

सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ। 

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा इपिएसमार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो। 

भदौ २२, २०८१ आइतबार १६:५३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।