एकीकृत समाजवादीले भन्यो 'काठमाडौं नदी किनाराका जमिन खाली गराउने सर्वोच्चको निर्णय गलत'

एकीकृत समाजवादीले भन्यो 'काठमाडौं नदी किनाराका जमिन खाली गराउने सर्वोच्चको निर्णय गलत'

काठमाडौं : एकीकृत समाजवादीले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ।

पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दवाबमूलक कार्यक्रम गर्नसमेत पहल गर्ने जनाएको छ।

पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको छ। उपत्यकाका पार्टीका नेताहरूको आजको डेलिकेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले सर्वोच्चको फैसला सच्याउन आवश्यक गतिविधि पार्टीले सञ्चालन गर्न निर्देशन दिए।

‘हामी अदालतको आदेशको विपक्षमा र जनताको पक्षमा उभिने निष्कर्षमा छौं। त्यसो हुँदा अन्तरक्रिया गर्ने, दबाव कार्यक्रम गर्नेजस्ता गतिविधि गरिन्छ,’ उपाध्यक्ष जगन्नाथ खतिवडाले भने।

पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो।

कार्यक्रममा अध्यक्ष नेपाल, उपाध्यक्षहरू राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति थियो।

अदालतले काठमाडौंका नदी किनारका ४० मिटर क्षेत्रमा निर्माण निषेध गर्नेगरी आदेश दिएको छ। 

भदौ २२, २०८१ आइतबार १५:३७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।