पाकिस्तानमा भेटियो तेल र ग्यासको भण्डार, विश्वको चौथो ठूलो खानी भएको दाबी

पाकिस्तानमा भेटियो तेल र ग्यासको भण्डार, विश्वको चौथो ठूलो खानी भएको दाबी

एजेन्सी : आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानको सामुद्रिक सीमामा तेल र ग्यासको ठूलो भण्डार फेला परेको छ।

पाकिस्तानी मिडिया हाउस डनका अनुसार साझेदार देशसँगको सहकार्यमा उक्त क्षेत्रमा तीन वर्षसम्म सर्वेक्षण गरिएको थियो। यसपछि, तेल र ग्यास भण्डारको अस्तित्व पुष्टि भएको छ।

पाकिस्तानको सामुन्द्रिक सीमामा भेटिएको भण्डार विश्वको चौथो ठूलो तेल र ग्यास भण्डार भएको दाबी पाकिस्तानी मिडियाको छ।

हाल, भेनेजुएलामा सबैभन्दा ठूलो तेल भण्डार छ, जहाँ ३४ लाख ब्यारेल तेल छ। यस्तै अमेरिकासँग भएको सबैभन्दा शुद्ध भनिएको तेल भण्डार अहिलेसम्म प्रयोगमै आएको छैन।

प्रतिवेदन अनुसार तेल वा ग्यास निकासी गर्न करिब ४२ हजार करोड लाग्ने अनुमान छ। यसका अलावा समुद्रको गहिराइबाट निकाल्न चारदेखि पाँच वर्ष लाग्नेछ।

यदि अनुसन्धान सफल भए तेल तथा ग्यास निकाल्नका लागि चाहिने भौतिक पूर्वाधार निर्माणमा थप खर्च लाग्नेछ।

पाकिस्तानका सुरक्षा अधिकारीले तेल र ग्यासको भण्डार फेला पार्नु देशको ‘ब्लु वाटर इकोनोमी’का लागि निकै राम्रो भएको बताए।

समुद्री मार्ग, नयाँ बन्दरगाह र सामुद्रिक नीति मार्फत अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने कार्यलाई ब्लू इकोनोमी भनिन्छ।

ब्लू इकोनोमीले तेल वा ग्यास मात्र उत्पादन हैन, समुन्द्रमा रहेका धेरै महत्त्वपूर्ण खनिजहरू पनि उत्खनन गर्न सकिन्छ। यसले पाकिस्तानको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

भदौ २२, २०८१ आइतबार १०:०४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।