फ्रान्समा नवनियुक्त प्रधानमन्त्रीविरुद्ध लाखौं मानिस सडकमा

फ्रान्समा नवनियुक्त प्रधानमन्त्रीविरुद्ध लाखौं मानिस सडकमा

एजेन्सी : फ्रान्समा नवनियुक्त प्रधानमन्त्री मिशेल बार्नियरविरुद्ध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले मिशेललाई प्रधानमन्त्री नियुक्तिको विरोध गरिरहेका छन्।

फ्रान्समा केही दिनअघि भएको निर्वाचनमा दक्षिणपन्थी दललाई पराजित गर्न वामपन्थी दलले गठबन्धन बनाएका थिए। जुन फलदायी सावित हुँदै नतिजा वामपन्थी दलकै पक्षमा गयो।

५७७ सिटको फ्रान्सको राष्ट्रिय संसदमा बहुमतका लागि २८९ सिट आवश्यक हुनुपर्ने भए पनि कसैले पनि ल्याउन सकेनन्।

एनपीएफले १८० सिट जित्दा नेशनल फ्रन्ट र युनियन अफ फार राइट्सको गठबन्धनले १४२ सिट जितेको छ।

उता इन्सेम्बल गठबन्धनले १५९ सिट जित्दा रिपल्बिलक पार्टीले जम्मा ३९ सिट मात्र हात पारेको छ।

तर, राष्ट्रपति इमानुएल म्याक्रोनले दक्षिणपन्थी नेता मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि जनतामा आक्रोश बढेको हो।

शनिबार, एक लाख भन्दा बढी मानिसहरूले मिशेलको नियुक्तिको विरोध गर्दै सडकमा प्रदर्शन गरे। यो विरोध ट्रेड युनियन र एनपीएफ सदस्यहरूले गरिरहेका छन्।

राष्ट्रपतिले आफूहरूको उम्मेदवारलाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेको भन्दै उनीहरूले प्रदर्शन चर्काएका हुन्।

फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले यो प्रदर्शनमा देशभर करिब १ लाख १० हजार मानिस सहभागी भएको जनाएको छ।

फ्रान्सको राजधानी पेरिसबाट पनि २६ हजारभन्दा बढी मानिसले उक्त प्रदर्शनमा भाग लिएका थिए।

अर्कोतर्फ प्रधानमन्त्रीमा नियुक्त ईयू ब्रेक्जिटका पूर्व वार्ताकारसमेत रहेका मिशेल बार्नीले सरकार गठनका लागि वामपन्थीलगायत अन्य दलहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

भदौ २२, २०८१ आइतबार ०८:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।