‘वसन्त’को शुभमूर्हत गर्दै प्रकाशले भने 'फिल्ममा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउने हुनेछ'

‘वसन्त’को शुभमूर्हत गर्दै प्रकाशले भने 'फिल्ममा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउने हुनेछ'

काठमाडौं : गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको फिल्म ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ। फिल्मका निर्देशक तथा अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायांकनको सुरुआत गरे। 

त्यसक्रममा फिल्ममा सपना विकको भूमिकामा रहेकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रहेकी कलाकार प्रभातपाल ठकुरीले फिल्मको छोटो सम्वादसमेत सुनाए। 

शुभमूर्हत समारोहमा बोल्दै फिल्मका निर्मातासमेत रहेका प्रकाशले ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताए। चलचित्रको ९० प्रतिशत छायाङ्कन आफ्नो गृहथलो बागलुङमा हुने उनको भनाइ छ। 

'फिल्ममा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ। चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ, उनले भने। 

फिल्ममा आफ्नै जन्मगाउँ बागलुङको धम्जा गाउँको परिवेश र कथावस्तु चित्रित हुने छ। 

चलचित्रको छायाङ्कन बागलुङसहित केही भाग काठमाडौँ र तराईमा गरिने छ। 

प्रकाशले पहिलोपटक आफ्नै चलचित्र निर्माण तथा निर्देशन गर्न लागेका हुन्। उनी नारायण रायमाझीद्वारा निर्देशित फिल्म ‘परेदशी–२’ बाट अभिनेताका रुपमा उदाएका हुन्। 

चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ लाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ। 

विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक प्रकाशले बताए। कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ। 

चलचित्रमा प्रकाश र स्वस्तिकाका अलावा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ। चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैंले तयार गरेका हुन्। चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने छन्। 

चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन गरेका हुन्।  

भदौ २१, २०८१ शनिबार २१:२७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।