तालतलैया घुम्न आएका पर्यटकलाई चक्कु देखाउँदै २ लाख लुटेर फरार भएका ७ जना पक्राउ

तालतलैया घुम्न आएका पर्यटकलाई चक्कु देखाउँदै २ लाख लुटेर फरार भएका ७ जना पक्राउ

काठमाडौं : सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरीमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए। 

झापा बाह्रदशी गाउँपालिका-३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई इटहरीको तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख लुटपाट गरी फरार भएका थिए। 

त्यस घटना सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताए। 

प्रहरीका अनुसार रामधुनी नगरपालिका-३ को २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय शुसन थापा, इटहरी उपमहानगरपालिका-४ को २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत र १८ वर्षीय निश्चल बस्नेत, सोही नगर वडा नम्बर ७ का १८ वर्षीय साकार भण्डारी, इटहरी उपमहानगरपालिका-४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन्। 

उनीहरूको साथबाट तीन लाख दुई सय ५५ रुपैयाँ नगदसहित चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको छ। 

पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

भदौ २१, २०८१ शनिबार २०:५९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।