प्रधानमन्त्रीको स्वीकार : नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिँदैन

प्रधानमन्त्रीको स्वीकार : नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिँदैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन्।

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल-भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै उनले नेपाल-भारतबीचमा धेरै नभए पनि केही समस्याहरू रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको बताए। 

उनले भने, ‘इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन। नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन। भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ। प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ। भारत लामो संस्कृति भएको छिमेकी मित्र हो। हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ। खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन।’

भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध संस्कृति नेपाली संस्कृति नभएको बताए। 

उनले भने, ‘पहिला पहिलाका वैदेशिक सम्बन्धहरू बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो। दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरुपमा प्रस्तुत गर्नुपर्छ। साझा स्रोतमा काम गर्दा एकपक्षीयरुपमा काम गर्नु हुँदैन।’

उनले सरकारले सुशासन, देश र जनतालाई केन्द्रमा राखेर सोचिरहेको बताउँदै लोकतन्त्रका नाममा अराजकता हुन नहुने बताए। 

भदौ २१, २०८१ शनिबार १७:४७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।