'दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय छ'

'दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय छ'

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। 

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलामा समापन मन्तव्य व्यक्त गर्दै उनले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। 

उनले गणराज्यकै झल्को दिनेगरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्द अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रूणका रुपमा औंल्याए।  

मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उनको भनाई छ। 

उनले भने, 'खासगरी दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय र अद्धितीय छ। यही योगदानकै फलस्वरुप हामीले नेपालको संविधानमार्फत सबै जाति, क्षेत्र, लिङ्ग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेका छौं र अहिले अहिले कार्यान्वयनको चरणमा छौं।'

भुटेको तोरीको तेलका लागि प्रशिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रुपमा पनि आफ्नो पहिचान स्थापित गरेको भन्दै उनले आफ्नै उत्पादन, आफ्नै ब्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गरेको बताए। 

प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्टिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक सरकारको नेतृत्व गरेको बेला २०८० कार्तिक २७ को मन्त्रिपपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको बताए। 

अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको उनको भनाइ छ।  

भदौ २१, २०८१ शनिबार १६:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।