किन नेपाल आए भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी!

किन नेपाल आए भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी!

काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी आज दिउँसो नेपाल आएका छन्। 

निर्देशक मीन भामको नेपाली चलचित्र ‘शाम्बाला’को प्रिमियर शोमा सहभागी हुन उनी काठमाडौं आइपुगेका हुन्। उनीसँगै चर्चित निर्देशक अनुराग कश्यपसमेत नेपाल आउने छन्।

यो फिल्म ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरामा निर्माण भएको हो। यसअघि फिल्म ‘कालोपोथी’ निर्देशन गरेर चर्चा कमाइसकेका निर्देशक भामको यो दोस्रो निर्देशकीय फिचर हो। 

टिजर हेर्दा यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गरेको छ। एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमाको कथालाई फिल्ममा उतारिएको छ।

नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ। झण्डै १४ करोड रुपैयाँ बजेट रहेको यो फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन्।  

फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।

भोलि काठमाडौंमा ‘शाम्बाला’को प्रिमियर शो गरिँदै छ।

बर्लिन र लोकार्नो फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको ‘शाम्बाला’ भदौ २८ बाट नेपालमा रिलिज हुँदैछ। 

भदौ २१, २०८१ शनिबार १६:२३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।