४ वर्षदेखि चलिआएको 'हैदराबादी मट्का बिरयानी'ले कुहिएको मासुबाट बिरयानी बनाउने गरेको पुष्टि

४ वर्षदेखि चलिआएको 'हैदराबादी मट्का बिरयानी'ले कुहिएको मासुबाट बिरयानी बनाउने गरेको पुष्टि

बुटवल : हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाकस्थित 'हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी'ले कुहिएको मासुबाट बिरयानी गराउने गरेको खुलेको छ।

चार वर्षअघि सुरू भएको मट्का बिरयानीले छोटो समयमा ग्राहकको मन जित्दै गएपनि बिरयानी तयार गर्दा कुहिएको मासु प्रयोग गर्ने गरेको खुलेको हो।

गत बिहिबार ग्राहकले बिरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावाद दम बिरयानीमा अनुगमन गरिएको थियो। बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल नगर कमिटी सहितको टोलीले अनुगमन गर्दा कुहिएको मासु, छाला भेटिएको हो।

बुटवल उपमहानगरपालिकाका अनुगमन शाखाका ठगिश्वर पोखरेलले ग्राहकको गुनासोको आधारमा हैदराबादी दम बिरयानीमा अनुगमन गरिएको र ५६ केजी मासु र कुखुराको छाला नष्ट गरिएको बताए। अब कार्यविधि अनुसार जरिवाना गर्ने उनले भने। 

खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ। तर, हैदरावाद दम बिरयानीले यी कानूनी मापदण्डको पालना नगरेको पाइएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए।

‘भाडा माझ्ने ठाउँ फोहोर थियो। भाडा सफा नगरेर खुवाएको गुनासो पनि सुनियो। भाडा माझ्ने ठाउँमा सिंगो मासु त्यही सफा गर्ने गरेको देखेपछि अनुगमन टोलीले पत्र काटेर आएको हो’ उनले भने। 

भदौ २१, २०८१ शनिबार १५:५२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।