घर व्यवहार धान्न मुश्किल भएपछि नयाँ पुस्ताले गर्नै छाडे आरन पेसा, राज्यको पनि उपेक्षा
काठमाडौं : पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ। विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयअनुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ।
शैल्यशिखर नगरपालिका-६ का पदमे लुहार युवा पुस्ताले आरन पेसा गरेर जीविकोपार्जन गर्न मुश्किल भएको बताउँछन्।
'यसबाट आय आर्जन खासै छैन। यो पेसा गरेर परिवार पाल्न धौधौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण छैन, उनले भने।
दिनरात काम गरे पनि आरन पेसा गर्नेले उचित पारिश्रमिक पाउँदैनन्। उनीहरुलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन।
'सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने थियो', लुहार भन्छन्।
स्थानीय तेजुवा लुहारले नयाँ पुस्ताले चासो नदिँदा आरन पेसा हराउँदै गएकोले राज्यले अन्य पेसा व्यवसायीलाई जस्तै आरन पेसा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेसामा अडिरहन सहयोग पुग्ने बताए।
पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुनेहुँदा युवाले आरन पेसा छाड्दै गएको मालिकार्जुन गाउँपालिका-३ का फगिर टमाटा बताउँछन्।
उनले दिनभर फलाम पिटेर सामग्री निर्माण गरेअनुसारको ज्याला नपाउने हुँदा आरन पेसा लोप हुन थालेको बताए। औजार बनाएबापत थोरै अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनको भनाइ छ।
पछिल्लो समय युवाहरू परम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित बन्न थालेका छन्। आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा परेको हो।
विभिन्न किसिमका औजार उत्पादन गरेपनि बजारको समस्या भएको स्थानीय गोकर्ण लोहारको भनाइ छ। गाउँगाउँ पुगेर बिक्री गरे पनि परिश्रम गरे अनुसारको पैसा नउठ्ने उनले बताए।
सोह्र वर्षको उमेरदेखि आरन पेसा सम्हाल्दै आएका लोहार ७५ वर्ष हुँदासम्म यही पेसामा सक्रिय छन्। परम्परागत रुपमा गर्दै आएको आरन पेसाबाट परिवारको खर्च धान्न समस्या भएको उनको भनाइ छ।
यो पेसामा आफ्नो भविष्य खोजी रहेका युवाहरूका लागि आधुनिक मेसिन र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने लोहारको माग छ।
समाजले हेर्न दृष्टिकोण र पेसाको सम्मान नहुँदा युवामा परम्परागत पेसाप्रति आकर्षण घट्न थालेको छ।
भदौ २१, २०८१ शनिबार १४:३०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।