कर्मचारीका अगाडि प्रधानमन्त्रीले भने, ‘हामीले भ्रष्टाचार गर्दा पनि तपाईंहरूलाई प्रयोग गर्नुपर्छ’

कर्मचारीका अगाडि प्रधानमन्त्रीले भने, ‘हामीले भ्रष्टाचार गर्दा पनि तपाईंहरूलाई प्रयोग गर्नुपर्छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीलाई नचलाई आफूहरूले भ्रष्टाचार पनि गर्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा २१औं निजामती दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक नेतृत्वको भ्रष्टाचारमा सहभागी नहुन कर्मचारीलाई आग्रह गरे।

‘तपाईंहरूलाई प्रयोग नगरी हामी त केही गर्न सक्दैनौं नि! तपाईंहरू कतै प्रयोग नहुनुस् मेरो आग्रह छ। करप्सन (भ्रष्टाचार) गर्दा पनि तपाईंहरूलाई प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरू त्यो करप्सनमा किन सहभागी हुने? पापमा सहभागी किन हुने?, कुकर्म र दुष्कर्ममा सहभागी किन हुने?’

राजनीतिक दलका नेताहरूको रेकर्ड राख्न आग्रह गर्दै उनले ठूला कुरा गरेको बेलामा चिन्याछु भन्ने भावले मुसुक्क हास्न समेत आग्रह गरे।

‘राजनीतिक दलका नेताहरूको रेकर्ड राख्नुस्,’ उनले थपे, ‘कम्तिमा ठूला कुरा गरेको बेलामा ‘चिन्याछु’ भनेर मुसुक्क त हास्नुस्। त्यो स्थितिले उनीहरूलाई डिस्करेज त गर्छ नि अलिकति!’
उनले कार्यक्रममा आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता पुनः दोहोर्याए।

भदौ २१, २०८१ शनिबार १४:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।