अपर मुस्ताङमा ४५ लाखको सेट बनाएर छायांकन हुँदै प्रदीप अभिनित ‘एक्लो’

अपर मुस्ताङमा ४५ लाखको सेट बनाएर छायांकन हुँदै प्रदीप अभिनित ‘एक्लो’

काठमाडौं : साइन्स फिक्सनमा आधारित फिल्म ‘एक्लो’को अपर मुस्ताङमा करिब ४५ लाखको सेट तयार गरेर छायांकन सुरू भएको छ।

करिब एक हप्ताअघि काठमाडौंको भद्रकालीमा चलचित्रको शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम मुस्ताङ गएको थियो।

चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी (क्षितिज)का अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म छायांकन गरिनेछ। हाल अपर मुस्ताङको लोमान्थाङमा छायांकन भइरहेको चलचित्रलाई, छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छायांकन गरिनेछ।

मुस्ताङको छायांकनपछि भने निर्माण टिमले १५ दिनको समय तालिका मिलाएर काठमाडौंमा छायांकन गर्नेछ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिसा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ।

चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्।

बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन्।

भदौ २१, २०८१ शनिबार १४:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।