दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

झापा : व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) पढाउन औपचारिक स्वीकृति पाएको छ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएसमा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति दिएको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए।

आयोगले शुक्रबार नै सिट निर्धारण बारेमा सार्वजनिक सूचना जारी गरिसकेको छ।

विर्तामोड नगरपालिका-५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो।

नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए।

सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो। सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो।

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए।

विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर-११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माको भनाइ छ।

भदौ २१, २०८१ शनिबार ११:४३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।