खेलको १३ सेकेन्डमै गोल गरेको फ्रान्स पराजित, इटालीले फर्कायो तीन गोल

खेलको १३ सेकेन्डमै गोल गरेको फ्रान्स पराजित, इटालीले फर्कायो तीन गोल

काठमाडौं : युइएफए नेसन्स लिग फुटबलमा इटालीले फ्रान्समाथि उत्कृष्ट जित निकालेको छ।

फ्रान्सको पार्क दे प्रिंसेसमा १३ सेकेन्डमै १ गोलले पछाडि परेको इटालीले फ्रान्सलाई ३-१ गोलको उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो।

फ्रान्सका ब्राडली बारकोलाले खेलको १३ सेकेन्डमै गोल गर्दै घरेलु टोलीलाई सुरुमै अग्रता दिलाएका थिए।

सेन्टरबाट बल चलेपछि बारकोलाले इटालीका डिफेन्डरबाट बल खोसेर सिधै पोस्ट चार्ज गर्दा गोल भएको थियो।

तर, ३०औं मिनेटमा इटालीका फेडरिको डिमार्कोले बराबरी गोल गरेका थिए। इटालीका सान्ड्रो तोनालीको पासमा डिमार्कोले भली प्रहार गर्दै बराबरी गोल गरेका थिए।

पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको खेलमा बाँकी २ गोल इटालीले दोस्रो हाफमा गरेको हो।

खेलको हाफको ५०औं मिनेटमा डेभिड फ्राटेस्सी मेटाओ रेटेगुइको पासमा उत्कृष्ट गोल गर्दै इटालीलाई २-१ ले अघि बढाए।

७४औं मिनेटमा डेस्टिनी उडोगीले दिएको पासमा गियाकोमो रसपाडोरीले गोल गरेपछि इटालीले फ्रान्समाथि ३-१ को उत्कृष्ट कमब्याक गोल गरेको थियो। जितपछि नेसन्स लिगको पहिलो खेलमै इटालीले ३ अंक लिन सफल भयो।

यही समूहमा रहेको बेल्जिमयमले इजरायललाई पनि ३-१ गोल अन्तरले पराजित गरेको छ।

बेल्जियमको जितमा केभिन डी ब्रुएनाले २ गोल गर्दा योरे टेलिम्यान्सले १ गोल फर्काएका थिए। इजरायलको नाउँमा रहेको एक गोल उपहार रह्यो। समूह बीमा इटाली शीर्ष स्थानमा रहँदा बेल्जियम दोस्रो स्थानमा रहेको छ।

भदौ २१, २०८१ शनिबार १०:१०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।