पार्किङ्गमा राखिएको सवारी तोडफोड, दुई जना पक्राउ

पार्किङ्गमा राखिएको सवारी तोडफोड, दुई जना पक्राउ

पोखरा : पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१७ चोरसाँघु नजिक पार्किङ्ग गरि राखिएको ग १ च १७२६ नम्बरको पिकअप भ्यान बिहीबार राती करीब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोही गाउँपालिका-३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन्। उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ।

उनीहरूले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुर अपराधमा पाँच दिनको म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

भदौ २१, २०८१ शनिबार ०७:२४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।