जातका कुरा : ‘प्रदेश बने दलित मुख्यमन्त्री बन्छन्’ भनेर प्रशिक्षण लिएकी सपनाले आठ वर्षमा मन्त्री पनि देखिनन्
दोस्रो संविधान सभाको निर्वाचन सकिएको थियो। पहिलो संविधान सभाले संविधान बनाउन नसकेर भंग भएपछि धेरैको अपेक्षा थियो, दोस्रो संविधान सभाले संविधान बनाउनेछ।
त्यसैअनुसार नै दलहरू ग्रासरूटदेखि सङ्घीय तहसम्म छलफल र परामर्शमै व्यस्त थिए। माओवादीले पनि संविधानको सन्दर्भमा जनताको सुझाव सङ्कलनलगायतका विषयमा तल्लो तहमा नेताहरूलाई खटाएको थियो। यो त्यही समयको कुरा हो।
सुनसरीको भरौलमा माओवादीका स्थानीय नेताहरू त्यही सन्दर्भमा छलफल गर्न बैठक बसे। बैठक सकियो। अनि बैठकमा सहभागी एकजना ब्राह्मण नेताकोमा खाना खाने सल्लाह भयो। उनीहरू त्यहीँ गए। खाना खाने क्रममा सपना, अर्का एक तामाङ नेता र ती ब्राह्मण नेता तीनै जना त्यो घरको मूल ढोकाबाट सहजै प्रवेश गरे।
तर, ती ब्राह्मण नेता जो पूर्व शिक्षक पनि थिए, खाना बनाएर दिने उनकी श्रीमतीले खाना खाँदैगर्दा सपनालाई सोधिन्, 'तपाईँ के थरी?' न कुनै सन्दर्भ न त कुनै परिवेश नै। ती महिलाले अनाहकमा थर सोधिन्, त्यो पनि खाना खाइसक्नै लाग्दा। सपनाले निर्धक्क 'म परियार हो' भनेर जवाफ दिइन्।
जवाफ सुन्ने बित्तिकै ती महिलाको अनुहारको रङ्ग बदलियो। उनी भित्रभित्रै उकुसमुकुस भएर के गरौँ र कसो गरौँ भइन्। जब उनी खाइसकेर हात धुन बाहिर निस्किन लागिन्, ती महिलाले 'त्यता हैन, यताबाट जानू' भन्दै मूल ढोकाको बाटोमा जान दिइनन्। तर, माओवादीको सशस्त्र युद्ध लडेर आएकी सपनाले उनको कुरा किन टेर्थिन् र! उनी मूल ढोकाबाटै पसेकी थिइन्, त्यहीँबाट निस्किइन्।
ती महिलासँग थप प्रतिवाद गरिनन्। किनकि सपना त्यो व्यवहार देख्ने बित्तिकै मानसिक रूपमा विक्षिप्त भइन्। त्यसबेला कस्तो लाग्यो, सपनालाई?
'युद्धकै बेला भएको भए त्यो बेलाको माओवादीले जस्तै जनकारबाही गर्थेँ जस्तो लाग्यो। हामीले त्यसरी लडेर कस्तो खाल्को परिवर्तन आएछ भन्ने खड्किरह्यो’ उनले भनिन्।
यसको दोषी को त? लामो समय लडेर पनि सपनालाई आफैँले समाजलाई बुझाउन सकिएनछ कि भन्ने लाग्छ। समाजलाई मात्रै हैन, आफ्नै कार्यकर्तालाई पनि बुझाउन नसकेको पो देखियो। किनभने सशस्त्र द्वन्द्वताका जातीय विभेदका विरुद्धमा डटेर लाग्ने तिनै ब्राह्मण कार्यकर्ताले आज आफ्नै श्रीमतीलाई विभेद बेठीक हो भनेर बुझाउन सकेका रहेनछन्। भनेपछि सपनाहरूले लडेर कस्तो परिवर्तन ल्याएछन्?
त्यसपछि सपनालाई लाग्यो, क्रान्ति अझै बाँकी छ।
'माओवादीकै कुरा गर्दा, जति पनि नगर कमिटीको बैठकमा पुरुषहरू आएर जातीय विभेद, लैङ्गिक विभेदका विरुद्धमा चर्को स्वरमा मीठा भाषण गर्छन्, के उनीहरू सबैले आफ्नी श्रीमती अनि परिवारलाई बुझाउन सकेका छन् त? त्यसैले परिवर्तन यहीँबाट थाल्नुपर्छ' उनले भनिन्।
त्यसयता सपना यही अभियानमा लागिरहेकी छिन्। यो एक दशकको अवधिमा माओवादी कार्यकर्ताको रूपमा लागेकी उनी अहिले कोशी प्रदेश सभा सदस्य छिन्।
OOO
२०६० तिरको कुरा हो, त्यसबेला सपना भूमिगत भइसकेकी थिइनन्। लुकेर पार्टीको काम गरिरहेकी थिइन्। सपनाको टोलीले सुनसरीको डुम्राकामा सेनाबाट लुकेर एउटा बैठक गरेका थिए। तर, त्यहीबेला खै कसले सुराकी लगाइदिएछ, सेना आइहाल्यो। त्यसपछि उनीहरूको भागाभाग भयो। कोही सुनसरी खोलातिर भागे,कोही रामधुनी जंगलतिर। सेनाले उनीहरूलाई भेट्न, फर्कियो। त्यो दिन 'बाँचियो' भन्दै त्यतै बास बसे।
त्यसको २ दिनपछि त्यही डुम्राकामा उसैगरी अर्को मिटिङ बसिरहेको बेला सपनाका ती ३ जना साथीहरू मारिए। धन्न, संयोगले त्यो दिन मिटिङमा गएकी थिइनन् उनी। साथीहरू मारिएको खबर सुनेपछि सपनाले खोजबिन थालिन्। अनि साथीहरू जसरी मारिएको भन्ने खुल्यो अनि उनी भूमिगत हुने निर्णयमा पुगिन्।
कसरी मारिएका थिए त सपनाका साथीहरू? वास्तवमा सपनाहरूलाई लागेको थियो, उनीहरूको लडाई सेना-प्रहरी वा सिङ्गो राज्यसत्ता हो। त्यही मानसिकता लिएर उनीहरू पार्टीको काम गरिरहेका थिए। तर, त्यो बेला त्यहीँ डुम्राकामा स्थानीय गाउँलेले नै सपनाका साथीहरूलाई छतविक्षत बनाएर मारे, त्यो मार्ने समूहलाई 'माओवादीको विरुद्धमा प्रतिकार समिति' नाम दिइएको थियो।
त्यसपछि सपनालाई लाग्यो, 'तिनै गाउँका सर्वहाराका लागि भनेर माओवादीमा लागेको तर, गाउँलेले नै हामीलाई मार्ने रहिछन् भने अब किन डटेर नलाग्ने?' त्यसपछि ०६० मा उनी भूमिगत भइन्।
OOO
सुनसरीको भरौलमा जन्मिएकी सपनाले स्थानीय मिलीजुली प्राविबाट कक्षा ५ सम्म अनि जगन्नाथ डेडराज जनता (जडेज) माविबाट ०६० सालमा एसएलसी दिइन्। बीचमा उनको पढाइ रोकियो। अहिले उनी स्नातक तह अध्ययनरत छिन्।
७ वर्षमै बुवा गुमाएकी सपनाको परिवारले कठिन अभावहरू ब्यहोरेको छ। उनकी आमाले अरूकै घरखेत, मेलापात, अधिँयाबटिया गरेर सपना र सिङ्गो परिवारलाई हुर्काइन्। मिश्रित समुदायमा हुर्किएकी उनले सानोमा विभेद नभोग्ने कुरै भएन।
०५२ तिर अर्काको घरमा काम गर्न गएकी उनकी आमालाई बाहिरै बसेर ख्वाएको, भाँडा आफैँ माझ्नुपर्ने, इनारमा पानी भर्दा डराइडराई अन्तिममा भर्नुपर्ने परिस्थिति देखेर हुर्किएकी थिइन् उनी।
त्यसै मेसोमा ०५६ सालमा उनी बाल कलाकारहरूको रूपमा गाउँघरमा गीत गाउने, नाच्ने गरिरहेकी थिइन्। सपनाले माओवादीले जातिपाती मान्दैन भन्ने सुनेपछि त्यतैतर्फ आकर्षित भइन्।
०५६ मै माओवादीको पार्टी सदस्यता लिइन् अनि त्यही वर्ष जडेज माविको अखिल क्रान्तिकारीको इकाई सदस्य भइन्। उता, कलाकारको रूपमा माओवादीको सांस्कृतिक मोर्चाको जिल्ला सदस्य पनि थिइन् नै। त्यसक्रममा उनले सुनसरी र मोरङका विभिन्न आमसभाहरूमा माओवादीका जनवादी गीतहरू गाउने र नाच्ने गरिन्।
०५८ मा सङ्कटकाल लाग्यो। सांस्कृतिक मोर्चाका सबै सदस्यहरू तितरबितर भए। कति भागे, कति लुके। तर, सपना भने पार्टीमा झन् सक्रिय भइन्।
उनको पढाइ चलिरहेको थियो। एसएलसीसम्म पढाइ गर्ने अनि भूमिगत हुने उनको योजना थियो। त्यसबीचमा सपनाको परिवारलाई सेनाको टोलीले कयौंपटक दुःख दिइरह्यो। सपना भागेर, लुकेर बसिरहेकी थिइन्। उनलाई जसरी पनि एसएलसी पास गर्नु थियो।
पार्टीतर्फ युद्ध कालमा जिल्ला सदस्य, कोचिला राज्य सदस्य हुँदै अहिले माओवादीको केन्द्रीय सदस्य छिन् उनी।
संसदीय फाँटतर्फ ०७० मा समानुपातिक संविधान सभा सदस्यको उम्मेदवार, ०७४ मा सङ्घीय सांसदको समानुपातिकतर्फ उम्मेदवार हुँदै अहिले कोशी प्रदेशसभामा सदस्य छिन्।
OOO
भूमिगत भइसकेपछि सपना पटक पटक मृत्युबाट छक्किएकी छन्। एक पटक सुनसरीकै प्रकाशपुर भन्ने ठाउँमा सपना र एकजना सिनियर दाइ एउटा घरमा बसिरहेका थिए। बेल्कातिर कसैले सेनालाई सुराकी पठाइदिइहालेछन्। बिहानै सेना आइहाल्यो। संयोगले सेनासँग ती दाइकोमात्रै हुलिया रहेछ तर, सपना चैँ सानै भएकाले सेनासँग हुलिया रहेनछ।
बिहानीपख ती दाइ र सपना अलि-वर बसेर गफ गरिरहेका थिए। यत्तिकैमा सेना आयो। सपना भएकै ठाउँबाट आर्मी गयो, सानी देखेर गाउँघरकै होला भन्ठानेर उनलाई वास्तै गरेन। उल्टै, आँखा झिम्क्याएर गयो। अनि अलि पर पुगेपछि ती दाइलाई गोली हानेर सेना उतै-उतै गयो। सपना बाँचिन्।
तर, भोलिपल्ट सेनाले सपना पनि छापामार माओवादी (तत्कालीन राज्य पक्षको शब्द) हुन् भन्ने थाहा पाएपछि खोजतलास गर्न आयो। तर ती दाइको हत्या हुनासाथ सपना मध्य असारको झरीमा जंगलैजंगल भागिसकेकी थिइन्।
भूमिगत हुँदा उनले आफ्नै गाउँ र त्यही आसपास काम गरिन्। त्यसोहुँदा उनलाई चिन्नेहरूले युद्धकालमै पनि विभेद गर्थे। तर, त्यस बेलाको गज्जब कुरा के भने, आफूमाथि भएको विभेदको प्रतिवाद गर्न सक्थिन्। माओवादीसँग डराउनेहरूले उनलाई विभेद गर्न सक्दैनथे।
त्यसबेला प्रतिवाद गर्न सक्ने उनी अहिले बरु प्रतिवाद गर्न सक्दिनन्। तर, उनी यसलाई प्रतिवाद गर्ने शैली बद्लिएको दाबी गर्छिन्।उनको बुझाइमा अबको प्रतिवाद नागरिकसँग भन्दा पनि राज्यसत्तासँग हुनुपर्छ।
OOO
माओवादीकै कारण आजका दलितहरू यस स्थानसम्म आइपुगेको सपनाको दाबी छ। तर, यो नै पर्याप्त हो र? दलितलाई योभन्दा माथि उकास्न माओवादीले थप केही गर्नुपर्दैन?
जवाफमा सपना सुनाउँछिन्, 'मुद्दा माओवादीले उठायो, अब कार्यान्वयन पनि यसैले गर्नुपर्छ। तर, फितलो भएकै छ। यसमा दलितको विषयमा दलका नेताहरूको मानसिकतामै समस्या रहेछ, मैले त्यही अनुभूति गरेँ।'
-अनि, त्यो नेताहरूको मानसिकता भनेको?
'त्यो भनेको दलितले गर्न सक्दैनन्, अहिले मन्त्री बनाएर चलाउन सक्दैनन्, क्षमता पुगिसकेको छैन भन्ने कमजोर मानसिकता हो। अझ अर्को थप कुरा भनूँ, काङ्ग्रेस-एमाले-माओवादी-राप्रपा सबै दलका नेताहरूले अरूलाई पालो पुर्याउँ अनि दलितलाई दिनुपर्छ, भन्दाभन्दै कोशीमा आजसम्म दलितले पूर्ण विभागीय मन्त्री नपाएको तथ्य लुकाउनु हुँदैन। यो दलितको हकमा मात्र हैन, महिलाको हकमा पनि लागू भइरहेको छ’ उनले थपिन्।
-भनेपछि नेतृत्वमा दलितलाई पुर्याउनुपर्यो अनि दलित मुद्दा सशक्त भएर स्थापित हुन्छ, हैन्त?
सपनाले सुनाउँदै गइन्, 'मुख्य कुरा विचार हो। तर यो बीचमा भावना पनि हुनुपर्ने रहेछ भन्ने बुझेँ मैले। जस्तो, कोशी प्रदेश सभाको दलको नेता दलितलाई बनाउने हो भने उनले सरकारमा मन्त्री पठाउँदा दलितलाई पठाउँछन् नै। त्यसैले दलित मुक्ति आन्दोलनको नेतृत्व दलितले नै गर्नुपर्छ भन्ने पुष्टि हुन्छ।'
१० वर्षे सशस्त्र द्वन्द्वमा दलित, महिला लगायतका उत्पीडितलाई जागरूक बनाएर वर्तमान परिवेश कायम गर्नमा अग्रणी भूमिका निर्वाह गरेको माओवादी आफैँ पछिल्लो समय उत्पीडितहरूको मुद्दाबाट पछि हटिरहेको छ। यसको कारक पार्टीले लिएको विचारमा नेतृत्वको व्यवहार ठिक नहुँदा निम्तिएको समस्या हो, सपनालाई यस्तै लाग्छ।
विचार र व्यवहारको खाडल पुर्न अनि दलितहरूको हकलाई सुनिश्चित गर्न सपनाले आफ्नै समुदायलाई अझ जागरूक गराइरहेकी छन्। आफू सदनबाट लड्ने अनि दलितहरूले सडकबाट सङ्घर्ष गर्ने गरेपछि तालमेल मिल्छ र, नेतृत्वको ब्राह्मणवादी चिन्तन ढल्ने उनको बुझाई छ।
OOO
सपना अहिले कोशी प्रदेशमा दलित ऐन बनाउन कस्सेर लागिपरिरहेकी छन्। दलितलाई बाख्रा वितरण गरेर, २/४ लाख बजेट वितरण गरेर केही हुनेवाला छैन। ऐन नै बनाएर दलितले स्वतःस्फूर्त पाउने मानव अधिकारको हक, रोजगारीका हक, न्याय र समानताको हक, शिक्षा र सञ्चारको हक इत्यादिलाई अनिवार्य गर्न पनि प्रदेश सरकारले सशक्त दलित ऐन बनाउनुपर्छ, अनि मात्रै दलित अधिकार सुनिश्चितताको थालनी हुन्छ कोशीमा, सपनालाई यस्तै लाग्छ।
उनले पहिलो पटक संसद्मा बोल्दा नै दलित सशक्तीकरण ऐन बनाउनुपर्छ भनिन्। त्यसपछि पनि पटक पटक मुख्यमन्त्री लगायत मन्त्रीहरूलाई भेटी सकिन्। त्यसयता ३ पटक दोहोर्याएर संसद्मा कुरा उठाइसकिन्। तर, ऐन अहिलेसम्म टेबुल पनि भएन।
प्रदेश सरकारमा दलितका मुद्दाहरू कमजोर हुनु भनेको त्यहाँ उपस्थित दलित सांसदको सङ्ख्याले पनि प्रभाव पारेको सपनाले सुनाइन्।
समसामयिक राजनीतिदेखि अन्य विषयमा गैर दलितले कुरा उठाइरहने तर, दलितको मुद्दा उठान गर्न सिङ्गो प्रदेश सभामा ४ जना सांसदले मात्र अपूरो भएको महसुस हुन्छ सपनालाई।
OOO
‘जनयुद्ध’कालमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता आएपछि दलित, महिला, मधेसी, जनजातिको मुद्दा समाधान हुने भन्दै प्रशिक्षण लिएको सपनाले सम्झिइन्।
प्रदेश संरचना बनेपछि दलितहरू मुख्यमन्त्री, मन्त्री बन्छन् भनेर प्रशिक्षण लिएकी सपनाले ८ वर्षसम्म आफ्नै प्रदेशमा कुनै एक दलित मुख्यमन्त्री त परको कुरा, मन्त्रीसम्म बनेको देखिनन्।
सपना भन्छिन्, 'दलका नेतृत्वकर्ताको मानसिकता।'
भदौ २१, २०८१ शुक्रबार २३:१०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।