बर्थिङ सेन्टरमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु भएपछि स्थानीयले गरे तोडफोड र सडकजाम

बर्थिङ सेन्टरमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु भएपछि स्थानीयले गरे तोडफोड र सडकजाम

काठमाडौं : रौतहटको गरुडा नगरपालिकामा रहेको एक बर्थिङ सेन्टरमा सुत्केरी गराउन गएकी रमिता देवीको मृत्यु भएपछि स्थानीयले तोडफोड गरेका छन्। शुक्रबार दिउँसो आक्रोशित स्थानीयले सदरमुकामलाई जोड्ने राजमार्ग पनि जाम गरे।

गरुडा नगरपालिका-५ शिवनगरकी २५ वर्षीया रमिता देवी सुत्केरी गराउन बर्थिङ सेन्टरमा पुगेकी थिइन्। सुत्केरी गरिसकेपछि अत्यधिक रक्तस्राव भएको भन्दै बर्थिङ सेन्टरले उनलाई वीरगन्ज रेफर गर्यो। 

तर, इन्डो-नेपाल अस्पतालमा पुग्दा अस्पतालले रमितालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

स्थानीयले बर्थिङ सेन्टरका कर्मचारीहरूको लापरवाहीको आरोप लगाएका छन्। घटनामा मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै शवलाई राजमार्गमा राखेर प्रदर्शनसमेत गरेका थिए।

तीन घण्टा लामो चक्का जाम गरेका स्थानीयले नगर प्रमुख कन्थमनि प्रसाद कल्वारको घर अगाडि पनि शव राख्न खोजेपनि प्रहरीले रोकेको थियो। त्यसक्रममा वडाध्यक्ष राम विनोद साहको निजी गाडीमाथि पनि तोडफोड भएको छ।   

भदौ २०, २०८१ शुक्रबार २१:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।