कांग्रेसले भन्यो 'बालेनले एकल निर्णय गरी पत्रिकामा सूचना प्रकाशित गरेर नगरबासीलाई आतंकित बनाए'

कांग्रेसले भन्यो 'बालेनले एकल निर्णय गरी पत्रिकामा सूचना प्रकाशित गरेर नगरबासीलाई आतंकित बनाए'

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर समितिले काठमाडौं महानगरका मेयर बालेन शाहले एकलौटी सूचना जारी गरेर महानगरबासीलाई आतंकित बनाएको भन्दै आपत्ति जनाएको छ।

शुक्रबार नगर सभापति निलकाजी शाक्य र महानगरको मेयर उमेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै खोलाको दायाँबायाँ थप मिटर छाडेर  संरचना बनाउन पाउने गरी सर्वोच्च अदालतले दिएको आदेशले पशुपतिनाथ लगायतका बस्तीहरू जोखिममा पर्ने भनेको छ। 

सर्वोच्चको आदेशले पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायत शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरू जोखिममा पर्ने  विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरू पर्दछन्। यस निर्णयले स्थानीय बासिन्दाहरूको पुराना बस्ती, वासस्थान र धार्मिक-सांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लोप हुने सम्मको अवस्था सिर्जना भएको नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले महसुस गरेको छ।’

विज्ञप्तिमा बालेनको नेतृत्वमा गरिएको कामहरूले नागरिकहरूको हित र आवश्यकतालाई प्राथमिकता नदिएको भन्दै महानगरबासीको हकहितको संरक्षणका लागि यस विषयमा सम्बोधन गर्दै समस्या निराकरणका लागि राज्यका तीनै अंगमा ज्ञापनपत्रसहित अनुरोध गर्ने भनिएको छ। 

कांग्रेसले कानुन बमोजिम नगरबासीहरूको हितका लागि फैसलाको पुनरावेदन गरी सम्पत्ति र वासस्थानको संविधान प्रदत्त हकप्रति ध्यान दिनुपर्नेमा, महानगरको कार्यपालिकाको बैठक वा कार्यपालिका सदस्यहरूसँग छलफलसमेत नगरी बालेनले एकल निर्णयबाट पत्रिकामा प्रकाशित सूचनाले नगरबासीहरूलाई आतङ्कित बनाएको भन्दै सो कार्यप्रति खेदसमेत व्यक्त गरेको छ। 

भदौ २०, २०८१ शुक्रबार १९:५२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।