गृहमन्त्री लेखकले नरुचाए पनि गोकर्णमणि गृहमै आए
काठमाडौँ : गृहमन्त्री रमेश लेखकको असहमतीकाबीच गृह मन्त्रालयमा गोकर्णमणि दुवाडी सचिव भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णयको प्रयास गरेको थियो।
गृह सचिव रहेका एकनारायण अर्याल भदौ १३ मा मुख्यसचिवमा बढुवा भएपछि गृहसचिव पद रिक्त थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगतको राष्ट्रिय तथ्याङ्क कार्यालयमा रहेका दुवाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृह सचिव बनाउने प्रयास गरे पनि गृहमन्त्री लेखकले मानेका थिएनन्। लेखकको असहमतिपछि बिहीबारको मन्त्रिपरिषद् बैठकमा उनको सरुवाबारे निर्णय भएन।
लेखकले यसबारे प्रधानमन्त्रीसँग अलग्गै छलफल गर्न चाहेपछि निर्णय भएन। तर शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुँदा गृह सचिवमा उनकै दुवाडीको नाम थियो।
२०५४ सालमा निजामती सेवा प्रवेश गरेका दुवाडीको सचिवमा बढुवाको निर्णय सात महिना अलपत्र परेको थियो। लोकसेवा आयोगको बढुवा समितिले २०७७ वैशाख ३१ मा उनलाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो। उनी ७ महिनापछि मात्रै बढुवा भए।
उनी २०५९ मा शाखा अधिकृत भएका थिए। त्यसको ७ वर्षपछि २०६६ मा उपसचिव भएको दोस्रो वर्षमै सहसचिव भएका थिए। सामान्य प्रशासन मन्त्रालयले उनलाई बढुवाका लागि पटक पटक मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव लगे पनि उनको बढुवाको प्रस्ताव सात महिना रोकिएको थियो।
भदौ २१, २०८१ शुक्रबार १९:०२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।