प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेर लेखेको बालेनको फेसबुक स्टाटस 'रिकभर'

प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेर लेखेको बालेनको फेसबुक स्टाटस 'रिकभर'

काठमाडाैँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फेसबुकबाट हटेको फेसबुक पोस्ट रिकभर भएको छ। बालेनले आफूहरूको अनुरोध गरेपछि फेसबुकले पोस्ट फिर्ता गरेको भनेका छन्। 

शुक्रबार आफ्नो स्टाटस फेसबुकले फिर्ता गरेको प्रमाण बालेनले कमेन्ट बक्समा एउटा स्क्रिनसट राखेका छन्। त्यसमा फेसबुकले बालेनको पोस्टलाई फेरि रिभ्यू गरेको र कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको नदेखिएको बताएको छ।

फेसबुकको नोटिसमा भनिएको छ, ‘हामीले यसलाई गलतरुपमा लिएकोमा दुःखी छौं। हामीले तपाईंको पोस्ट फेरि पुनरावलोकन गर्यौं र हाम्रो सामुदायिक मापदण्डअनुरुप नै भएको पायौं। तपाईंले पुनरावलोकनका लागि अनुरोध गर्न समय निकाल्नुभएकोमा आभारी छौं। तपाईंको प्रतिक्रियाले हामीलाई राम्रो गर्न सहयोग मिल्नेछ।’

गत मंगलबार एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै बालेनले एक स्टाटस लेखेका थिए। 

स्टाटसमा बालेनले सांसद शर्माले १४ वर्षीया बालिकालाई आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको भन्दै उनलाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए।

तर, सांसद शर्माको तस्विरसहित उनले गरेको पोस्ट दुई दिनपछि डिलिट भयो।

एमालेका कार्यकर्ता तथा समर्थकले रिपोर्ट गरेपछि फेसबुकले कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको सूचना पठाएर पोस्ट हटाइदिएको बालेनको दाबी थियो। 

त्यसपछि आफ्नो फेसबुक पोस्ट डिलिट भएपछि बालेनले लेखे, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ।’

त्यसपछि बालेनले रिभ्युका लागि फेसबुकमा पत्राचार गरेका थिए।  

सम्बन्धित समाचार :

भदौ २०, २०८१ शुक्रबार १८:५०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।