यसपालि दसैँमा नयाँ नोट साट्न नपाइने, चलनचल्तीकै सफा र सुकिलो नोट साट्न दिइने

यसपालि दसैँमा नयाँ नोट साट्न नपाइने, चलनचल्तीकै सफा र सुकिलो नोट साट्न दिइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ। राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो। यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए। 

यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ। सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ? जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्नेछ, उनले भने। 

सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेको थियो। दसैँको मुखमा साटिएका नोट उक्त चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात् ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले बताए। 

नेपाली नोटको कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्छ। यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनर्प्रयोग गर्न अयोग्य हुन सक्छ। 

नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको निर्देशक भट्टराईले बताए। 

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्बिरअङ्कित नोटलाई पुनः निष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंकले नष्ट गर्ने गरेको छ।

टीका लगाई दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेको वा मैलिएका हातहरूले नोट छुँदा त्यस्ता नोट चलनचल्तीमा आउँदैनन्। नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङहरू लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी नेपाली नोटको दुरुपयोग गर्ने/गराउनेउपर कारबाही गर्न सकिने व्यवस्था रहेको छ।  

भदौ २०, २०८१ शुक्रबार १७:०२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।