तीज गीतमा मौलिकता : कहाँको सदाबहार ‘तीजको रहर आयो बरी लै’ अनि कहाँ ‘बिस्ताराले पोल्यो’
काठमाडौं : विगत केही वर्षयता जस्तै सस्तो लोकप्रियताका नाममा यस पटकका तीज गीतमा पनि विकृति भित्रिए। त्यसपछि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले छाडा गीत प्रसारण नगर्ने निर्णय गर्यो भने तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले पनि माफी मागिन्।
शान्तिश्रीले गाएको अहिलेको विवादित गीत ‘काले के–के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो ...’ नसुन्ने अहिले कमै होलान्। तर, यो गीत एकान्तमा मात्र सुन्ने खालको छ। चाखलाग्दो कुरा के भने, यसको भिडियोले युट्युबदेखि अन्य सामाजिक संजालमा धेरैपटक हेरिएको छ।
शान्तिश्री सबैको नजरमा राम्रो गायिकाको ट्याग लागेकी लोकप्रिय गायिका हुन् तर, पछिल्लो समय गीत विवादितहुँदा उनलाई दर्शक स्रोताले आलोचना गरिरहे। तर, त्यसले उनलाई छोएन क्यारे! एउटा गीतको विवाद नसेलाउँदै शान्तिश्रीको अर्को गीत आयो, ‘जवानीले पोल्यो ...।’
उनको नयाँ गीत ‘जवानीले पोल्यो’ मा पनि पूर्ववत् शैली र प्रस्तुति देखिएको छ। गीतको शब्द, भिडिओ र कोरियोग्राफी अघिल्लो गीतसँग मिल्दोजुल्दो छ। मोडल र पहिरन पनि उस्तै छन् अनि नृत्य पनि उस्तै।
अहिले तीजकै लागि भनेर निकालिएका एकपछि अर्को गीत विवादित बनिरहेका छन्। तीजको अर्को ‘गुलेली तन्कियो’ बोलको गीत पनि निर्विवाद छैन। यो गीतको भिडियोमा अभिनेता राजेश हमाल पनि देखिएका छन्।
भदौ तेस्रो साता मनाइने तीज ताकेर गत असारदेखि नै गीतहरू आउँछन्। अहिले कुनै गीत दर्शक, स्रोताले मन पराएर चर्चामा छन्। कतिपय चाहीं शब्द, दृश्याङ्शका कारण विवादित छन्। केही गीत तीजको नभएर रत्यौलीको झल्को दिने खालका पनि देखिन्छन्।
परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तीजका गीत पछिल्ला समय पुरुषले पनि गाउन थालेका छन्। यसको गज्जब एउटा उदाहरण हुन्, गायक दुर्गेश थापा। दुर्गेशले तीन वर्षअघि गाएको ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ बोलको गीत डेढ करोड पटकभन्दा बढी हेरिएको छ। त्यसपछि पनि त्यसका दुई, तीन गर्दै दुर्गेशले थुप्रै सिरिजहरू ल्याइसके।
चर्चामा आउनकै लागि तीजको अवसरमा गीत ल्याउनेहरू उत्तिकै छन्। छोटो समयमा चर्चामा आउनको लागि मौलिकपनालाई ध्यान नदिँदा यस्ता गीतहरू परिवारसँग बसेर हेर्न नसकिने अवस्था छ।
वर्षभरीका घटना, नारीका पीर, वेदना तथा सन्देशमुलक सामाग्री भन्दा पनि अनावश्यक तडकभडक शैलीको सिकोले गीतमा विकृति फैलाएको छ। यस्तै गीतका कारण मौलिकतामा ध्यान दिने वास्तविक तीजे भाका ओझेलमा पर्न थालेका छन्। तीजका भाकाहरूमा आफ्नोपना हराउँदै जाँदा यसको नियन्त्रण गर्दै तीजको मौलिकता जोगाइदिने पो कसले?
लोक गायक रामप्रसाद खनाल तीजको मौलिकपन वर्षभरी घटेका घट्नाक्रमहरुलाई गीतमा लेखेर सोही अनुसार महिला पुरुष सँगै गाउने सँगै नाच्ने सँगै बजाइदिने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छन्।
‘तीजको बेलामा निकाल्दैमा तीजको गीत हुँदैन। कलाको नाममा अहिले चर्तिकला देखाउनेहरुको हाबी भएको छ,’ उनले भने,‘कलाकारहरूले कला देखाउने हो चर्तिकला देखाउने होइन। देशमा लोक गीत, दोहोरी गीत र सांस्कृतिक गीतहरुको लागि योगदान दिएको मान्छे भएको कारणले मैले बोल्नैपर्छ।’
तीज गीतले पहिला र अहिले निकै फरक भएको भएपनि संस्कृति विनाशको बाटो गइरहेको उनको चिन्ता छ। एकैछिन भाइरल भएर केही नहुने भएकाले लोकको प्रिय बन्न उनी सुझाव दिन्छन्।
तीज खानामा, गीतमा र सम्बन्धमा मिठास भर्ने गौरव बोकेको संस्कृति हो। हजुरआमा, आमाहरूले तीजका बेला गाउँ नै घन्किने गरी मीठा भाकामा दुःख, पीडा, विरह, सुख, माया, प्रेम, विद्रोहका कुरा गीतमार्फत व्यक्त गर्ने गरेको पाइन्छ।
जस्तो कि, ‘तीजको रहर आयो बरी लै’ यस्तो सदाबहार गीत हो, जुन गीत नबजी कुनै पनि बर्षको तीज जाँदैनस् चालीसको दशकमा रिलिज भएको चलचित्र 'कन्यादान'को यो गीत हरेक बर्षको तीजमा उत्तिकै बज्ने गर्छ।
हुन पनि यस गीतले तीजको महत्व र बेदना बोकेको छ। नौडाँडा काटेर गएका चेली भाग्यले भेट हुन पाएको, अर्को वर्ष भेट होला नहोला? को कहाँ पुग्ने केही थाहा नभएकाले दुःख बिर्सिएर मनको धोको पुर्याएर गाउन आग्रह गरिएको छ। चेलीलाई माइत आउन भदौंरे भेलले नरोकेको भाव त्यक्त गरिएको छ। सासू, आमाजू, नन्दले दिने गरेका दु:ख बिर्सिएर रमाउन आग्रह गरिएको छ। गीतमा श्रीमानको दीर्घायुको कामना गरिएको छ। र, पो यो गीत सदाबहार छ।
तर, अहिले बदलिँदो समय, फेरिँदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका यस्ता गीतहरू सुनिँदैनन्।
त्यसैपनि तीजमा माइत आउँदा सबै तीता अनुभव बिर्सिने गरी आत्मीयता साट्ने, मीठो–मसिनो खाने, चोखो दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने अनि चौतारी, स्कुल, चोकमा भेला भएर नाचगान गरेर तीज मनाउने चलन हो।
तर, आजभोलि परम्परामा परिवर्तन आएर संस्कार नै मेटिनेगरी गीतहरू बजारमा आएका छन्। बुवाआमा दाजुभाइसँग बसेर सुन्नै नसकिने तीजका भाका युटुवमा छ्यापछ्यापी छन्। अब तीजका गीत विरह, वेदनाकै हुनुपर्छ भन्ने रहेन तर, पर्वको मर्मलाई गीतमा मर्न दिन हुँदैन।
भदौ २१, २०८१ शुक्रबार १६:२२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।