'मापदण्ड पूरा गरेन, जग्गा पुगेन, भवन पुगेन भनेर अस्पताल बन्द गर्नु हुँदैन'

'मापदण्ड पूरा गरेन, जग्गा पुगेन, भवन पुगेन भनेर अस्पताल बन्द गर्नु हुँदैन'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि निजी अस्पतालले मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित एसोशिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको भन्दै मापदण्ड पूरा गरेन भनेर अब अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताए।

पहिला सरकारले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसकेको र अहिले यहाँसम्म आइपुग्दा कडा हुन खोजेर सम्भव नहुने उनको तर्क छ। 
 
उनले भने, ‘स्वास्थ्यको दायरा बढाउन, सञ्चार एवं बैंकहरुको दायरा बढाउने काम निजीले नै गरेका हुन्। नीतिगत रुपमा नेपाली कांग्रेसले नै यसलाई प्रवेश गराएको हो। कुनै अस्पतालले मापदण्ड पूरा गरेन, जग्गा पुगेन, भवन पुगेन भनेर अब अस्पताल बन्द हुन सक्छ? सक्दैन। पहिला स्वीकृति पनि त सरकारले नै दिएको हो। पहिले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसक्ने अहिले चलेर यहाँसम्म आयो अब कडा हुन खोजेर सम्भव छैन।’

उनले निजी क्षेत्रको लक्ष्य पनि नागरिकलाई सेवा सुविधा दिने नै रहेको भन्दै यस क्षेत्रलाई बाँध्ने भन्दा पनि खुकुलो छाडेर लगानीको दायरा बढाउनुपर्ने बताए। 

मन्त्री पौडेलले नेपालमा गुणस्तरहीन स्वास्थ्य भन्ने भाष्य निर्माण भएको भन्दै स्वास्थ्य कहिल्यै गुणस्तरहीन नहुने बताए। 

भदौ २१, २०८१ शुक्रबार १४:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।