नेपालले श्रीलंका डेभलपमेन्ट्सलाई दियो १६० रनको लक्ष्य

नेपालले श्रीलंका डेभलपमेन्ट्सलाई दियो १६० रनको लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट्सलाई १६० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४० ओभरमा १५९ रन बनाउँदा अलआउट भयो। नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ४३ रनको पारी खेल्दा कुशल मल्ले ५५ बलमा ३५ रन जोडे।

अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। श्रीलंका डेभलपमेन्ट्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

श्रीलंका डेभलपमेन्ट्ससँग हुने भनिएको पहिलो र दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। नेपाली टोली अब भोलि श्रीलंकामै अभ्यास गरेर लिग २ को सिरिजका लागि क्यानडा जाँदैछ।

नेपाली टोलीले आज कप्तानलाई पनि खेलाएको थिएन भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि खेलेका थिएनन्। आजको टोलीको कप्तानी सोमपाल कामीले गरेका थिए।

भदौ २०, २०८१ शुक्रबार १३:५६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।