बंगलादेशका प्रमुख सल्लाहकारले भने- ‘हसिनाले भारतमा बसेर वक्तव्यबाजी नगरुन्’

बंगलादेशका प्रमुख सल्लाहकारले भने- ‘हसिनाले भारतमा बसेर वक्तव्यबाजी नगरुन्’

काठमाडौं : बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले पूर्व प्रधानमन्त्री शेख हसिना भारतमा बसेर राजनीतिक बयान नदिन आग्रह गरेका छन्।

समाचार एजेन्सी पीटीआईलाई दिएको एक अन्तर्वार्तामा युनुसले हसिनाको सुपुर्दगीको माग गर्ने तर त्यतिन्जेल हसिना मौन बस्नु पर्ने बताए।

हसिनाको बोलीका कारण दुवै देशले समस्या भोग्न नपरोस् भनेर समेत उनले सचेत गराएका छन्।

भारतले शेख हसिनालाई सुपुर्दगीको माग नभएसम्म आफूसँग राख्न सक्ने भए पनि उनले त्यहाँबाट राजनीतिक अभिव्यक्ति दिन नहुने बताए। उनले भारतसामू आफ्नो अभिव्यक्ति स्पष्ट राखिसकेको समेत खुलाएका छन्।

युनुसले शेख हसिनालाई फिर्ता ल्याएर मुद्दा चलाइने बताए। उनले हसिनाको भारतमा बसाइ कसैलाई पनि सहज नभएको बताए।

उनले भने, ‘हसिना चुप बसेकी भए हामीले बिर्सने थियौं, जनताले पनि बिर्सने थिए किनभने उनी आफ्नै संसारमा हुने थिए। तर उनी भारतमा बसेर बयान दिने र निर्देशन दिने गर्छिन्, यो कसैलाई मन परेको छैन।’

वास्तवमा, युनुसले अगस्ट १३ मा दिएको शेख हसिनाको बयान तर्फ औंल्याएका हुन्।

उक्त अभिव्यक्तिमा हसिनाले बंगलादेशमा भएको हत्या र हिंसालाई आतंकवादी घटनाको संज्ञा दिँदै त्यसमा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानको माग गरेकी थिइन्। हसिनाले आफूलाई न्याय र अपराधीलाई सजायको माग समेत गरेकी थिइन्।

पीटीआईसँग कुरा गर्दै युनुसले भनेका छन्, ‘यस्ता भनाइ भारत र बंगलादेश दुवैका लागि राम्रो होइन।’

हसिना पछिल्लो एक महिनादेखि भारतमा बस्दै आएकी छिन्। हिंसात्मक आन्दोलनका कारण उनले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिँदै भारत भागेकी थिइन्।
 

भदौ २१, २०८१ शुक्रबार ०८:०३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।