घरमा काम गर्न राखिएकी बालिकालाई ३ वर्षदेखि बलात्कार गरिरहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ

घरमा काम गर्न राखिएकी बालिकालाई ३ वर्षदेखि बलात्कार गरिरहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं : घरमा काम गर्न राखिएकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि बलात्कार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

बिहीबार काठमाडौं महानगर-१४ कुलेश्वर आवासीय क्षेत्रबाट एकजना ५४ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो। उनको परिचय भने खुलाइएको छैन।

त्यसक्रममा १७ वर्षीया बालिकाको उद्धार गरिएको काठमाडौं महानगरले जनाएको छ। 

महानगरले सञ्चालन गरेको बाल श्रमविरुद्धको अभियानमा आएको जानकारी अनुसार ती पुरुषले विगत ६ वर्षदेखि ती बालिकालाई घरेलु कामदारका रूपमा राखेका थिए।

काठमाडौं महानगर, बाल हेल्पलाइन, बालबालिका खोज तलास केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमन तथा जाहेरी प्रतिवेदनका आधारमा उनलाई निवासबाटै पक्राउ गरिएको बताइएको छ।

बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो। 

गएको ६ वर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रूपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवरजस्ती करणी गरिरहेको बालिकाले बताएकी छन्।

भदौ २०, २०८१ बिहीबार २१:३८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।