दोस्रो फिल्म प्रदर्शनअगावै प्रकाशको हातमा तेस्रो फिल्म, ‘हरिबहादुरको जुत्ता’मा हरिवंश र प्रकाश

दोस्रो फिल्म प्रदर्शनअगावै प्रकाशको हातमा तेस्रो फिल्म, ‘हरिबहादुरको जुत्ता’मा हरिवंश र प्रकाश

काठमाडौं : गायक तथा अभिनेता प्रकाश सपुत एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेका छन्। गत वर्ष फिल्म ‘परदेशी२’मार्फत अभिनेतामा डेब्यु गरेका उनले पछिल्लो समय ‘पूर्ण बहादुरको साराङ्गी’मा अभिनय गरे। यो फिल्मको छायांकन सकेको केही दिनमा उनी दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘हरिबहादुरको जुत्ता’मा अनुबन्ध भएका छन्। 

पहिलो फिल्ममा मद्यम अभिनय गरेका उनले दोस्रो फिल्म कस्तो बनेको छ, त्यो हेर्न बाँकी नै छ। तर, उनी तेस्रो फिल्ममा अनुबन्ध भइसकेका छन्। फिल्म ‘हरिबहादुरको जुत्ता’लाई हरिवंश आचार्यले लेखेका हुन्। यस फिल्ममा प्रकाश सपुतका अलावा हरिवंश आफैंले अभिनय गर्ने दीपेन्द्र के खनालले जानकारी दिए। 

यो फिल्मलाई गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले लगानी गर्न लागेका हुन्। ओलीले बुधबार चलचित्र विकास बोर्डमा ‘हरिबहादुरको जुत्ता’ नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन्। 

हरिवंश आफैले लेखेको यो फिल्मको पटकथा तथा संवादलाई ओलीले मन पराएपछि निर्माणमा जुटेका हुन्। 

यही फिल्मबाट अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हुनेछ। यो फिल्ममा एक निर्देशक, दुई कलाकार छनोट मात्रै भएका छन्। तर, अभिनेत्री को रहने छन् भन्ने बारेमा निर्माण पक्षले खुलाएको छैन। 

यो फिल्मको अभिनेत्रीमा निर्माण टिमले जानकारी नदिए पनि प्रियंका कार्कीले अभिनय गर्ने प्रबल सम्भावना छ। किनभने उनले यसअघि हरिवंश र सरोजसँग ‘काउली’,‘ए केटा मादलु पड्का’लगायत गीतको भिडियोमा सहकार्य गरेकी छन्। त्यसैको आधारमा पनि उनी अभिनेत्री हुनसक्ने सम्भावना बढि देखिन्छ। तर, फिल्मका निर्माता सरोजले यसबारे चाँडै नै जानकारी दिए बताए। 

यता दीपेन्द्र के खनालले विवादित मेयर भरत थापाको बायोपिकमा ‘मेयर’निर्माण गरेका छन्। जुन फिल्म प्रदर्शनमा आउन तयारीमा छन्।  

भदौ २०, २०८१ बिहीबार २०:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।