एआइजी ज्ञवालीले एक सातामा अवकाश पाउने, छानबिन समितिको काम गुपचुप

एआइजी ज्ञवालीले एक सातामा अवकाश पाउने, छानबिन समितिको काम गुपचुप

काठमाडौँ : उमेर हदका कारण हुने अवकाशको प्रावधान रोक्न अन्तरिम आदेशसहित सर्वोच्च अदालतमा प्रहरीका उच्च अधिकारीहरूले दायर गरेको रिटमा अदालतबाट अन्तरिम आदेश आएन। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले सर्वोच्चमा उमेर हदका कारण हुने अवकाशको प्रावधान हटाउन माग गर्दै रिट दायर गरेका थिए।

बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिएन। इजलासले मुद्दालाई अग्राधिकार भने दिएको छ।

एआईजी ज्ञवालीसहित, डिआइजी यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुर उमेर हदअनुसार अवकाशमा नपठाउन माग गर्दै भदौ १२ मा सर्वोच्चमा रिट दायर गरेका थिए।

अवकाश आइसक्यो तर टुङ्गिएन छानबिन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखको रूपमा काम गर्दा पदीय दुरुपयोग गरेको, मुद्दाको अनुसन्धानको क्रममा आर्थिक कारोबार गरेको लगायतको गम्भीर आरोपमा प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो।

एआइजी टेकबहादुर राईको संयोजकत्वमा समिति गठन गरेको थियो। ज्ञवाली अवकाशमा जान एक साता मात्र बाँकी छ। उनीसहितलाई प्रहरी किताबखानाले अवकाशको पत्र पठाइसकेको छ। तर छानबिन समितिबारे प्रहरी प्रधान कार्यालयले केही निर्णय सार्वजनिक गरेको छैन।

भदौ १९, २०८१ बिहीबार २०:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।