प्रेमीले घरमा पेट्रोल छर्केर आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको जलेर मृत्यु

प्रेमीले घरमा पेट्रोल छर्केर आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको जलेर मृत्यु

एजेन्सी : प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको छ।

त्यहाँका चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूका अनुसार यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो। कार्यकर्ताहरूले महिला–हत्या महामारीको चेतावनी दिए। 

'हामीले ओलम्पिक एथलिट रेबेका चेप्टेगीको उनको प्रेमीले गरेको भयानक हमलापछि दुःखद निधनका बारेमा थाहा पाएका छौँ। यो कायरतापूर्ण र संवेदनहीन कृत्यले एउटा महान एथलिटलाई गुमाउनुपर्यो, उनको विरासत कायम रहनेछ,' युगान्डा ओलम्पिक समितिका अध्यक्ष डोनाल्ड रुकारेले एक्समा पोस्ट गरेका छन्। 

प्रहरीका अनुसार चेप्टेगीका साथी डिक्सन एनडिमा मराङगजका रूपमा चिनिने हत्याराले आइतबार पश्चिमी काउन्टी ट्रान्स–नजोइयाको एन्डेबेसमा रहेको उनको घरमा पेट्रोल छर्केर जलाएका थिए। 

चेप्टेगीको प्रेमीलाई पनि अस्पतालमा भर्ना गरिएको छ। तर, उनको अवस्था गम्भीर छैन।

दुई जनाबीच घरबाहिर झगडा भएको र झगडाको क्रममा प्रेमीले महिलालाई जलाउनु अघि तरल पदार्थ खन्याएको बताइएको छ। 

यो घटना ३३ वर्षीया चेप्टेगीले पेरिस ओलम्पिकमा म्याराथुनमा भाग लिएको केही सातापछि भएको हो। म्याराथुनमा उनी ४४औँ स्थानमा रहेकी थिइन्। 

आक्रमणमा परेकी चेप्टेगीको शरीरको ८० प्रतिशत भाग जलेको उनको उपचार भइरहेको अस्पतालका कार्यवाहक प्रमुखले मङ्गलबार पत्रकार सम्मेलनमा बताएका थिए। 

'हिजो राति उनको सबै अङ्ग खराब भए', मोई टिचिङ एन्ड रेफरल अस्पतालका एक चिकित्सकले भने। 

चेप्टेगीको उपचार गर्ने एक नर्सले उनको मृत्यु स्थानीय समयानुसार बिहान ५ बजे भएको जानकारी दिइन्।  

भदौ २०, २०८१ बिहीबार १८:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।