एमाले महासचिव पोखरेलको प्रश्न : मेयर बालेनसँग प्रधानमन्त्रीकाे के तुलना हुन्छ ?

एमाले महासचिव पोखरेलको प्रश्न : मेयर बालेनसँग प्रधानमन्त्रीकाे के तुलना हुन्छ ?

सुर्खेत : एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा कसैले धारणा राखेकाे अवस्थामा त्यसैकाे पछि लागेर धारणा बनाउनु गलत भएको बताएका छन्।

पार्टीकाे प्रदेश स्तरीय बैठकमा बिहीबार सुर्खेत पुगेका उनलाई पत्रकारहरूले बालेन र प्रधानमन्त्रीबिच द्वन्द्व भएको हाे? भन्ने प्रश्नमा उनले मेयर र प्रधानमन्त्रीबिच तुलना गर्न नमिल्ने बताए।

`मेयरसँग प्रधानमन्त्रीकाे के तुलना हुन्छ। केका लागि द्वन्द्व हुने कुरा छ र,`उनले भने, `कसैले सामाजिक सञ्जालमा केही धारणा बनायो भन्दैमा त्यही पछाडि लाग्न आवश्यक छैन। अनुसन्धान गर्ने निकाय हाेला। त्यसले प्रक्रिया अगाडि बढाउला।´

केही दिन अगाडि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले एमालेकी लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माले बालिकालाई घरमा श्रमशाेषण गरेकाे विषयमा कारवाही किन नगरेको भन्दै फेसबुक पेज मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न उठाएका थिए। पछि उक्त पाेष्ट फेसबुकले डिलिट गरेपछि बालेनले `पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ!´ भन्दै लेखे।

त्यसपछि अहिले सामाजिक संजालमा बालेन समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियान चलाइरहेका छन्। त्यस अभियानलगत्तै ओलीको बचाउमा महासचिव पोखरेलले ओलीको फेसबुक पेज शेयर गरेका थिए। 
 
फरक प्रसंगमा पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय मर्यादाविपरीत भ्रम छर्ने खालका अभिव्यक्ति दिइरहेको आरोप लगाए।

'पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सत्ता नपाएको झोकमा देशलाई बंगलादेश, श्रीलंका बनाइदिने भन्दै अभिव्यक्ति दिएर समाजमा अराजकता फैलाउन खोज्नु कत्तिको जायज हाे?', उनले भने, 'प्रचण्डले जिम्मेवार प्रतिपक्षीको भूमिकासमेत निर्वाह गर्न सकेका छैनन्।'

महासचिव पोखरेलले सरकारबाट बाहिरिएपछि प्रचण्डले कांग्रेस-एमाले मिलेर संविधानमा रहेका कमीकमजोरीका विषयमा गर्न खोजेको समीक्षालाई आम जनतामा भ्रमको विषय बनाएको बताए।

मुलुकमा दुई दलीय प्रणाली नभई राजनीतिक स्थायित्व र समृद्धिका लागि शक्तिशाली दुई दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले अन्य दल नै खोल्न नपाइने गलत भाष्य प्रचण्डले प्रयोग गरिरहेको बताए। 

‘संकटबाट गुज्रिएको देशलाई सही बाटोमा ल्याउन एमाले–कांग्रेस मिलेका हुन्,’ उनले भने, ‘लोकतन्त्रलाई सही दिशामा लैजान संविधानमा भएका अपूरा पक्षमाथि समीक्षा गर्न आवश्यक छ। हामीले अघि सारेको संविधान संशोधन प्रचण्डले भने जस्तो परिवर्तन उल्ट्याउन हाेइन। याे व्यवस्थालाई बलियो र सुदृढ बनाउन हाे।` 

भदौ १९, २०८१ बिहीबार १६:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।