महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरीपछि रास्वपा बारा सभापति स्वर्णकारलाई पदबाट हटाइयो

महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरीपछि रास्वपा बारा सभापति स्वर्णकारलाई पदबाट हटाइयो

काठमाडौं : महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट हटाएको छ। 

चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको तथा नशालु पदार्थ ख्वाई करणी गरेको भन्दै उजुरी परेको थियो। उजुरीमाथि छलफलपछि उनलाई अनुशासनको कारबाहीसहित पार्टीको जिम्मेवारीबाट हटाइएको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए। 

१५ दिन अगावै उनको जिम्मेवारी हेरफेर गरेको भन्दै उनले भने, ‘उहाँलाई प्रदेश सभापतिले जिम्मेवारी हेरफेर गरेर प्रदेश समिति सदस्य राखेको हो।’

उजुरीकर्ता महिलाको आचरण तथा व्यवहारका सम्बन्धमा विचार गर्दा उनको आचरण समेत राजनीतिक रूपमा स्वीकारयोग्य नभएको अनुशासन आयोगले निष्कर्ष निकालेको छ। 

ती महिलाको उजुरीपछि अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्याल र ती महिलासहित जिल्लाका लगभग २० जना पार्टी पदाधिकारीहरू तथा साधारण सदस्यको उपस्थितिमा छलफल गराएको रास्वपाले जनाएको छ। 

अनुशासन आयोगले चन्दन स्वर्णकारलाई पार्टी विधान विपरीत कारबाही गर्न र एक वर्षका लागि साधारण सदस्य समेत नरहने नगरी अनुशासन आयोग नियमावलीको नियम ५ बमोजिम साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ ।

‘स्वर्णकारको आचरण प्रदेश अनुशासन आयोगमार्फत अनुगमन गरी ६-६ महिना प्रतिवेदन पेस गर्ने र आचरणमा उल्लेख्य सुधार आएको देखिएमा निजलाई गरिएको कारबाही माथि पुनर्विचार गर्न सकिने’ भनी आयोगले लेखेको छ। 

उजुरीकर्ता महिलालाई पनि १ वर्षसम्म पार्टीको कुनै जिम्मेवारी लिन तथा आन्तरिक राजनीतिक प्रतिस्पर्धाहरूमा भाग लिन नपाउने गरी सजाय गर्ने आयोगले निर्णय गरेको छ।  

भदौ १९, २०८१ बिहीबार १५:५७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।