तीज मनाउने तयारीमा रहेको घरमा बिहान खसी काट्ने सल्लाह थियो, राति आमा छोराको हत्या!

तीज मनाउने तयारीमा रहेको घरमा बिहान खसी काट्ने सल्लाह थियो, राति आमा छोराको हत्या!

काठमाडौं : उदयपुरको कटारी नगरपालिका- १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ। वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा छ वर्षीय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो। 

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए। 

'आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो। छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ,' वडाध्यक्ष खड्काले भने। 

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल पठाइसकेको बताए। 

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ। वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्षअघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए। 

उनले भने, 'तीनसय मिटर पर मुल घर थियो गएराति चाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ।'

घटनास्थल पुगेकी कटारी नगरपालिकाकी कार्यपालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिइन्। 

स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरूसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए। 

'साना साना देवरहरू थिए उनीहरुलाई बिहान आउँछौं भनेका थिए रे। बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ,' उनले भने। 

बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। गाउँ तीज मनाउने तयारीमा थियो। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

भदौ १९, २०८१ बिहीबार १५:३७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।